Kathmandu Press

भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माण नहुँदा छाप्रोमै पढाइँ

काभ्रे, कात्तिक ६ : भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन। पुनःनिर्माण योजनाले नछोएका अ....

भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माण नहुँदा छाप्रोमै पढाइँ

काभ्रे, कात्तिक ६ : भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन। पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी छाप्रोमा पढ्न बाध्य छन्।
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ। ‘भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ,’ एकाइ प्रमुख द्वारिका पोखरेलले भने।

उनका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका पाँच सय ८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ। ‘निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ,’ उनले भने।
भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ। निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ।
काभ्रेप्लाञ्चोकका सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एशोसिएसन, नेपाल एन्ड बीओल्ड युनिसेफ चायल्ड स्पेस फाउन्डेसन, हेल्थ एन्ड एजुकेसन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन्।
 
मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माणको काम आउँदो २०७७ भित्र सक्ने योजना छ। एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ।
यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो।
 
अठ्ठाइस विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएका छन्। नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताए।
जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन्। ती विद्यालयमा हाल ७७ हजार आठ सय ५४ विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्