‘भोट हाल्न जाउँ भन्छन्, दुःख यहाँ गर्नुछ, गाउँमा भोट हालेर के गर्नु ?’
यतिखेर देश चुनावको रौनकमा छ। लोकतान्त्रिक मुलुकका लागि चुनाव एउटा पर्व हो, जसमा नागरिक स्वस्फूर्त सहभागी हुनुपर्छ। तर छिरिङ र डोमालाई चुनावको कुनै चासो छैन।
काठमाडौं, वैशाख २९ : काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्ती। बुधबार २५ वर्षीया छिरिङ शेर्पा जस्ताको टहराअगाडि सडकछेउमा बसेर भाँडा माझ्दै थिइन्। उनका सात वर्षीय छोरा (सुशान्त) सडकमा साइकल चलाउँदै थिए।
छिरिङ यहाँको सुकुम्बासी बस्ती वरिपरि नै जन्मेर हुर्केकी हुन्। उनकी ६६ वर्षीया आमा यहीँ वरपर बस्न थालेको ३५ वर्ष भयो। डोमा पहिले यहाँदेखि नजिकै जस्ताको टहरामा बस्थिन्, भाडा तिरेर। हाल त्यहाँ कोटेश्वर बहुमुखी क्याम्पस बनेको छ। क्याम्पस खोल्ने भएपछि उनीहरूलाई हटाइएको थियो। डोमा यहाँ सुकुम्बासीका रुपमा बस्न थालेको १७ वर्ष भयो। छिरिङको देखि नजिकै उनको टहरा छ। छिरिङ विवाहपछि छुट्टै बस्न थालेकी हुन्। डोमाका छोराबुहारी पनि यही बस्तीमा बस्छन्।
४० वर्षअघि डोमाका श्रीमान् दोलखा जिरीदेखि काम खोज्दै काठमाडौं छिरेका थिए, साथमा डोमालाई लिएर। यो अवधिमा डोमाका श्रीमान् रहेनन्। अनेक संघर्ष गर्दै डोमा काठमाडौंमा टिकिन्, अहिले उनले बस्तीमै पसल चलाउँछिन्।
यतिखेर देश चुनावको रौनकमा छ। लोकतान्त्रिक मुलुकका लागि चुनाव एउटा पर्व हो, जसमा नागरिक स्वस्फूर्त सहभागी हुनुपर्छ। तर छिरिङ र डोमालाई चुनावको कुनै चासो छैन।
डोमाले ०७४ को स्थानीय चुनावमा जिरी नगरपालिका पुगेर भोट हालेकी थिइन्। ‘त्यतिबेला गाउँदेखि मानिसहरू लिन आएका थिए। गाडीको पनि व्यवस्था थियो,’ डोमा भन्छिन्, ‘यसपटक पनि मान्छेहरू बोलाउन आएका थिए। तर जाने मन भएन।’
जिरी थातथलो भए पनि त्यहाँ आफूहरूको नाममा जग्गा–जमिन नभएको उनी बताउँछिन्। ‘गाउँमा बसेर गरिखाने ठाउँ छैन। भोट हालेको भरमा बस्ने व्यवस्था गरिदिँदैनन्,’ उनी भन्छिन्, ‘आफ्नो गाउँ फर्कन त मन लाग्छ तर बस्ने बासै छैन। भोट दिएर बास र आम्दानी हुने कुनै उद्यम गर्न पाउने होइन। किन भोट दिने ?’
काठमाडौंमा सुकुम्बासीका रूपमा बस्दै आएकी उनले मतदान पनि यहीँबाट दिनुपर्ने हो ! हाम्रो यो जिज्ञासामा उनले भनिन्, ‘उम्मेदवारहरू भोट माग्न आएका थिए। तर, मेरो नागरिकता यहाँको होइन।’
डोमा र छिरिङजस्तै यस सुकुम्बासी बस्तीमा ८३ घरधुरी बस्छन्। बालबालिकासहित लगभग एक हजार जनसंख्या रहेको ३९ वर्षीय दोर्जे शेर्पा बताउँछन्। दोलखा जिरीका दोर्जे श्रीमती र एक छोरासँग विगत सात वर्षदेखि यहाँ बस्दै आएका छन्। ‘यहाँ बस्ने भएपछि यहीँबाट भोट दिन पाए हुन्थ्यो, यहाँका जनप्रतिनिधिले वास्ता गर्दैनन्, गाउँमा गएर भोट हालेर केही फाइदा छैन,’ उनी भन्छन्, ‘भोट हाल्न नपाए पनि चुनावका बेला एकपटक जनप्रतिनिधि यहाँ आइपुग्छन् र आशा देखाएर जान्छन्। तर, फर्किएर कहिले आउँदैनन्।’
दोर्जेका अनुसार, सुकुम्बासी बस्तीमा बर्खामा ज्यान जोगाउनै गाह्रो हुन्छ। बाढी पसेर भएका सामान बगाउँछ। तर, आफूहरूलाई सोधपुछ गर्न कोही सरकारी मान्छे वा जनप्रतिनिधि नआएको उनको गुनासो छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थायी ठेगाना भएकी ३७ वर्षीया सरिता रसाइली १७ वर्षदेखि आफ्ना श्रीमानसँग यहाँ बस्दै आएकी छन्। श्रीमान् (शेखर रसाइली) र तीन छोराछोरीसहित पाँचजनाको परिवार टहरामा बस्न निकै मुस्किल भएको सरिताको भनाइ छ। ‘गाउँमा बाढीपहिरोले घर–खेत बगाएपछि काम खोज्दै काठमाडौं आएका थियौँ। यहाँ जागिर नपाएपछि महँगो भाडा तिरेर बस्न सकेनौँ,’ सरिता भन्छिन्, ‘यहाँ बसी ज्याला–मजदुर गर्दै गुजारा चालेका छौँ कहिले खोलाले बगाउँछ थाहा छैन।’
सरिताको परिवारलाई मतदान गर्न जानका लागि गाउँका उम्मेदवारले बसको व्यवस्था गरिदिएका रहेछन्। ‘दुःखका बेला सहयोग गर्न कोही आउँदैनन्। भोट हाल्न जानका लागि गाउँबाट बस आउँछ रे,’ उनले आक्रोशित हुँदै भनिन्, ‘भोलि (बिहीबार) जानुपर्छ है भनेका छन् तर मलाई जान मन छैन।’
५० वर्षीयपनि मतदान गर्न गाउँ नजाने सोचमा छन्। उमाकुण्ड गाउँपालिका रामेछापका स्थानीय उनी ३२ वर्षदेखि मनोहरा खोलाको आसपासमा बसेका छन्। १७ वर्षअगाडि आफ्नो औषधि उपचारका लागि ३५ लाख रुपैयाँ खर्च भएपछि आफू सुकुम्बासी हुन पुगेको उनी बताउँछन्। ‘गरिब, दुःखीको हितमा काम गर्ने प्रतिनिधि र व्यवस्था आएपछि मात्र भोट दिन्छु,’ उनले भने, ‘गरिब जनताको भोटको कदरै छन्। जनप्रतिनिधिलाई जिताउन मात्र भोट दिन्नँ।’
फाेटाे : सुजल बज्राचार्य /काठमाडाैं प्रेस











-(86)-1764936079.jpg)
