भोट हाल्न गाउँ फर्कनेको लर्को, एकैदिन ८४ हजारले छाडे काठमाडौं
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार मेखराज खत्रीका अनुसार चौबिस घन्टाको अवधिमा ८३ हजार ६६० जनाले काठमाडौं छाडेका छन्।
काठमाडौं, वैशाख २९ : स्थानीय तह निर्वाचनमा मतदान गर्न राजधानीबाट गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन संघारमै आइपुग्दा काठमाडौं उपत्यकाबाट बाक्लो संख्यामा सवारी साधनहरु बाहिरिएका छन् । तुलनात्मक रुपमा उपत्यका भित्रिने सवारी साधनको संख्या भने कम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
चुनावकै लागि विभिन्न राजनीतिक दलहरुले गाडी पठाएरै काठमाडौं उपत्यकाबाट मतदाता ओसारिरहेका छन् । बुधबारदेखि नै विभिन्न जिल्लाबाट दलहरुले आफ्ना मतदाताहरुलाई फर्काउन सवारी साधन पठाइरहेका छन्। बुधबार कोटेश्वर र नयाँ बसपार्कमा गाउँ फर्कने यात्रुहरुको भिड लागेको थियो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवलदार मेखराज खत्रीका अनुसार चौबिस घन्टाको अवधिमा ८३ हजार ६६० जनाले काठमाडौं छाडेका छन् । यो विवरण बुधबार बिहान ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्मको हो । ‘आजको विवरण भोलिमात्रै आउँछ,’ उनले भने। चौबिस घन्टाकै अवधिमा ११ हजार २३३ सवारी साधन काठमाडौंबाट बाहिरिएका छन्।
काठमाडौं भित्रिनेको संख्या ३५ हजार ६७५ रहेको छ । सोही अवधिमाभरी कुल नौ हजार २२१ सवारी काठमाडौं भित्रिएको खत्रीले जानकारी दिए।











