नेकपा (बहुमत) का संयोजक बास्तोला पक्राउ, रिहाइ नगरे संघर्ष गर्ने चेतावनी
पोखरामा आयोजित राजनीतिक प्रशिक्षण सम्पन्न गरेर गृह जिल्ला बाँके जाँदै गर्दा आज (बिहीबार) दाङको भालुवाङमा उनी पक्राउ परेका हुन्।
काठमाडौं, वैशाख २९ : हालै गठन गरिएको नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
पोखरामा आयोजित राजनीतिक प्रशिक्षण सम्पन्न गरेर गृह जिल्ला बाँके जाँदै गर्दा आज (बिहीबार) दाङको भालुवाङमा उनी पक्राउ परेका हुन्।
नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर बुटवलमा भएको बम विस्फोटसँग जोडेर बस्तोलालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन्।
‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ।
बुटवल घटनाको जिम्मा नेकपा (माओवादी) ले लिइसकेको र त्यसमा नेकपा (बहुमत) को सहभागिता नरहेको विज्ञप्तिमा जनाइएको छ। चुनाव बहिष्कार गर्ने आफूहरूको कुनै नीति नरहेको बरु देशभक्त र जनपक्षीय उम्मेदवारलाई सहयोग गर्न सक्ने नीति पार्टीले लिएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौं।’
नेता बास्तोलाको शीघ्र रिहाइकाको माग गरेको छ। उक्त माग पूरा नभए देशव्यापी रूपमा संघर्ष गर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।












