भोकमरीको संकट हुने संयुक्त राष्ट्र संघको चेतावनी
संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले खपत हुनेभन्दा धेरै खाना उत्पादन गरे पनि सामाजिक असमानता, वातावरणीय क्षयीकरण, जलवायु परिवर्तन र युद्धका कारण भोकमरी हुने चेत....
संयुक्त राष्ट्र संघको नयाँ प्रतिवेदनले खपत हुनेभन्दा धेरै खाना उत्पादन गरे पनि सामाजिक असमानता, वातावरणीय क्षयीकरण, जलवायु परिवर्तन र युद्धका कारण भोकमरी हुने चेतावनी दिएको छ।
दशकौंसम्म ओरालो लागे पनि सन् २०१५ देखि विश्वभर भोकमरीबाट पीडितहरूको संख्या विस्तारै बढ्दै गएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन, युरोपेली आयोग र फ्रान्सको सिआइआरएडी कृषि अनुसन्धान केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पोहोर साल मात्रै ८२ करोड मानिस भोकमरीबाट पीडित थिए। असमान पहुँच एउटा मुख्य समस्या हो। केही मानिस धेरै खाना खरिद गर्छन् र त्यसै फ्याँक्छन्। अन्यले आवश्यक पौष्टिक आहार किन्न वा पाउन नसक्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनको नाम “फुड सिस्टम्स एट रिस्क” राखिएको छ।
“पृथ्वीमा प्रति व्यक्ति प्रतिदिन तीन हजार किलो क्यालोरीभन्दा केही थोरै खाना उपलब्ध छ। जनसंख्याको पौष्टिक आवश्यकता करिब २२ सय किलो क्यालोरी भएको अनुमान गरिएको छ,” अनुसन्धानमा संलग्न अर्थविद् स्यान्ड्रिन ड्युरीले भने। गुणस्तरको प्रश्न पनि छ। धेरै मानिस बोसो र चिनीको क्यालोरीमा निर्भर छन्। तिनीहरूमा भिटामिन र खनिजको मात्रा पर्याप्त हुँदैन। मानिसहरू मोटोपन र पोषणको अभावबाट पीडित हुने क्रम बढ्दै गएङ्को ड्युरीले बताए।
रोममा खाद्य तथा कृषि संगठनलाई बुझाइएको उक्त प्रतिवेदनले विद्यमान प्रवृत्ति नउल्ट्याइए कुपोषणको समस्या झनै गम्भीर हुने चेतावनी दिएको छ। सन् २०१९ मा ७.७ अर्ब रहेको विश्वको जनसंख्या सन् २०३० सम्म ८.५ अर्ब पुग्नेछ। तीमध्ये धेरैजसो भोकमरीले पीडित अफ्रिका र एसियामा बढ्नेछ। त्यहाँको सीमित स्रोतमाथि झन् दबाब बढ्नेछ। सन् २०३० सम्म शहरी जनसंख्या ५० प्रतिशतले बढ्नेछ भने केही देशमा ग्रामीण जनसंख्या २० प्रतिशतभन्दा धेरै बढ्नेछ।
अस्थिर खाना प्रणाली
द्वन्द्व र प्राकृतिक विपद्ले बढाएको बसाइँसराइँले परिस्थिति अझ बिग्रिने प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसमाथि ग्लोबल वार्मिङको प्रभाव त छँदैछ।
“साधारणतया न्यून खाद्य उत्पादन क्षमता, न्यून लक्ष्यता, श्रोतसाधनमाथि अत्यधिक दबाब र राजनीतिक असुरक्षाका कारण अस्थिर भएको खाना प्रणालीले बसाइँसराइँ र विस्थापन बढी गराउँछ,” प्रतिवेदनमा उल्लेख छ।
धेरैभन्दा धेरै मानिसहरू गरिबीबाट मुक्त हुँदै गर्दा पशु खाद्य उत्पादनको माग बढ्दै गएको पनि उल्लेख गरिएको छ। पशुपालन र तिनीहरूका लागि खाना उत्पादन गर्न वनविनाश बढेको छ। वनविनाशले पृथ्वीको तापक्रम बढाउने कार्बन डाइअक्साइड सोस्ने रूख घटाउँछ। र यसले जलवायु परिवर्तनलाई तीव्रता दिन्छ।
“ग्लोबल वार्मिङको लक्षित प्रभावले विपद्सम्बन्धी विस्थापन निश्चित रूपमा बढाउँछ। नयाँ भूमि, खाना र पानीको खोजिमा जनसंख्या बसाइँ सर्ने हुँदा यसले सामाजिक अशान्ति र द्वन्द्व पनि बढाउने सम्भावना छ,” प्रतिवेदनमा भनिएको छ।