विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं, कात्तिक ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।....
काठमाडौं, कात्तिक ५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरुमाथि वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सहयोग गरेको अभियोग लगाएको छ।
त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शंकास्पद रुपमा दुई वटा मोबाइल फोनमार्फत लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ।
पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरु अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’ समेत आदानप्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
खाडी मुलुकमा घरेलु कामदारलगायत पेशामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिई अनुमति दिएको आयोगका जिकिर छ। आयोगले त्रिवि अध्यागमन कार्यालयका अधिकृतहरु मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति १० हजारका दरले २४ लाख ८० हजार रुपैयाँ बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ ।
उनीहरुविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको र अन्य संलग्न व्यक्ति माथिसमेत अनुसन्धान जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिए।
यस्तै, आयोगले बारागढी गाउँपालिका–३ बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
पोखरेलले पदीय दायित्व निर्वाह नगरी एक लाख ३९ हजार ९६२ बढी भुक्तानी गरेको पाइएको छ। आयोगले सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको छ।






