प्रधानमन्त्री ओलीलाई कांग्रेसले भन्यो- संवैधानिक परिषद्बाट सहमतिमा मात्र निर्णय होस्
काठमाडौं, कात्तिक ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्ले गर्ने निर्णय सहमतिमा मात्र गर्नु पर्ने बताएको छ।
....
काठमाडौं, कात्तिक ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्ले गर्ने निर्णय सहमतिमा मात्र गर्नु पर्ने बताएको छ।
मंगलबार बिहानन बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेसको पदाधिकारी बैठकले संवैधानिक परिषद्को निर्णय सहमतिबाटै मात्रै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेको छ।
‘हामीले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदबाट गर्ने निर्णय सहमतिमै गर्न आग्रह गरेका छौंँ,’ बैठकपछि कांग्रेसका एक नेताले भने। बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावनाविपरीत हुने प्रधानमन्त्री ओलीलाई स्मरण गराएको छ।
संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने बताउँदै कांग्रेसले बैठकमा यसबारे अडान लिन सभापति देउवालाई सुझाएको छ। साथै बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सुझाव पनि दिएको छ।
बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका थिए।
बैठकमा आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार छान्ने विषयमा पनि छलफल भएको थियो। कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न र अन्य तयारीका लागि कात्तिक ७ गते बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव लगायत नेताहरु सहभागी थिए।






