Kathmandu Press

‘दलितसँग विवाह गरेकाले चार–पाँच वर्ष माइतीसँग बोलचाल भएन, जातीय विभेद हटाउन पहल गर्नेछु’

‘दलितले छोएको खान हुँदैन भन्दै गैरदलित टाढा–टाढा भाग्न खोज्छन्,’ उनी भन्छिन्, ‘मानिसको मन मिले जातले त्यति धेरै महत्व राख्दैन । ’
‘दलितसँग विवाह गरेकाले चार–पाँच वर्ष माइतीसँग बोलचाल भएन, जातीय विभेद हटाउन पहल गर्नेछु’

काठमाडौं वैशाख २७ : काठमाडौं महानगरपालिका वडा २० को दलित महिला सदस्यका लागि उर्मिला नेपाली चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । 

कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी उर्मिला ०७४ मा निर्वाचित जनप्रतिनिधिबाट प्रभावित छन् । ०७४ का जनप्रतिनिधि र हाल २० वडाकी महिला सदस्य उम्मेदवार शोभा मानन्धर र वडाध्यक्षका उम्मेदवार राजेन्द्र मानन्धरले समाजमा गरेका कामबाट आफू प्रभावित भएको उनी बताउँछिन् । ‘शोभा मानन्धरले मलाई हरेक कार्यक्रममा सहभागी गराउनुभयो, यसरी सामाजिक छलफलमा संलग्न हुँदा राजनीतिप्रति चासो बढ्यो,’ उनी भन्छिन्, ‘०७४ देखि नै म राजनीतिमा सक्रिय रूपमा लागेँ ।’ 

Hardik ivf

वडा २० मै नेवार (शाही) परिवारमा जन्मेएकी उर्मिलाले २४ वर्षअगाडि (१७ वर्षको उमेरमा) वडा २० कै कञ्चन नेपालीसँग अन्तर्जातीय विवाह गरेकी हुन् । ‘दलितसँग विवाह गरेकाले चार–पाँच वर्ष माइतीसँग बोलचाल भएन,’ उनी भन्छिन्, ‘गैरदलित भएर दलितसँग विवाह गरेको भनेर आफन्त र परिवार अपरिचित बनिदिएँ ।’ 

माइतीसँगको भावनात्मक दूरी उनका लागि पीडादायी नै थियो । तर, श्रीमान् र परिवारका सदस्यबाट माया पाएकाले सहज भएको उनी बताउँछिन् । ‘दलितले छोएको खान हुँदैन भन्दै गैरदलित टाढा–टाढा भाग्न खोज्छन्,’ उनी भन्छिन्, ‘मानिसको मन मिले जातले त्यति धेरै महत्व राख्दैन । अहिले म समाजमा हुने जातीय विभेदका घटनामा आवाज उठाउँदै आएकी छु, यसलाई निरन्तरता दिन्छु ।’

०७४ अघि राजनीतिक कार्यक्रममा सहभागी हुँदै आए पनि उनी सक्रिय राजनीतिमा थिइनन् । ‘महिलाले भान्सा मात्र होइन देश पनि चलाउन सक्ने भनेर हौसला पाइरहँदा उम्मेदवार बन्ने हिम्मत मिल्यो,’ उनी भन्छिन्, ‘स्थानीय जनप्रतिनिधिको हौसलाका कारण उम्मेदवार बन्न समक्ष भएँ, निर्वाचित भएर समाजसेवा गर्ने रहर छ ।’ 

काठमाडौं महानगरपालिका– २० का नगरवासीका स–साना समस्या समाधानका लागि केन्द्रित भई कार्य गर्ने उनको योजना छ । ‘नीति बनाउने त माथिल्लो पदका प्रतिनिधिले हो । काम सदस्यले नै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘सदस्यको जिम्मेवारी त्यति धेरै हुँदैन । निर्वाचित भएँ भने सदस्य हो भनेर चुप लागेर बस्दिनँ । घरभित्र गुम्सिएर बसेका गृहिणी महिलालाई भान्सामा मात्र सीमित नराख्ने, वडाका वृद्धवृद्धा तथा महिलाका समस्या समाधान गर्ने कार्यक्रम ल्याउन पहल गर्नेछु ।’ 

समाजमा जातीय विभेदका समस्या पनि छन्, विभेदरहित  र समतामूलक समाजका लागि पहल गर्ने उनले बताइन् । ‘मैले २४ वर्षअगाडि अन्तर्जातीय विवाह गरेँ, पहिले र अहिलेमा धेरै फरक आइसकेको महसुस गरेकी छु,’ उनले भनिन्, ‘अहिले पनि भित्री रूपमा जातीय विभेद गुम्सिएर बसेको छ, त्यसलाई न्यूनीकरण गर्ने अठोट लिएकी छु ।’

प्रकाशित मिति: २२:०० बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्