१० करोड क्षतिपूर्ति माग गर्दै मेडिसिटी अस्पतालविरुद्ध साह दम्पतिद्वारा मुद्दा दायर
काठमाडौं, कात्तिक ५ : क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै पूर्वसभासद् गायत्री साह दम्पतिले मेडिसिटी अस्पतालविरुद....
काठमाडौं, कात्तिक ५ : क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै पूर्वसभासद् गायत्री साह दम्पतिले मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता गराएका छन्।
बच्चाको उपचार खर्च दिने मेडिसिटी अस्पतालले मौखिक सहमति जनाएको र अहिलेसम्म नदिएको भन्दै साह दम्पतिले अदालतमा मुद्दा दायर गरेका हुन्। क्षतिपूर्तिबापत १० करोड रूपैयाँ उपलब्ध गराउन माग गर्दै अस्पतालविरुद्ध मुद्दा दायर गरेको साहका श्रीमान राजेश महतोले जानकारी दिए।
अस्पतालको लापरबाहीका कारण छोरामा डाउन सिन्ड्रोम भएको भन्दै महतोले असोज २८ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
काठमाडौंप्रेससँग कुरा गर्दै महतोले भने,‘बच्चालाई घरमा लगेर राख्ने अवस्था छैन। बाचुञ्जेलसम्म उसको स्वास्थ्य चेकजाँच गर्नुपर्छ। अस्पतालकै लापरवाहीले मेरो बच्चा यस्तो अवस्थामा पुगेको होे। त्यसैले क्षतिपूर्ति माग गर्दै मुद्दा दिएका हौं।’
गर्भ बसिसकेपश्चात निरन्तर मेडिसिटी अस्पतालमै चेकजाँच गराइरहेकी पूर्वसभासद् साहले गत फागुन २८ गते बच्चा जन्माएकी थिइन्। शिशु जन्मदा शरीरको विकास कम हुने डाउन सिन्ड्रोम देखा परेको थियो। बच्चा पेटमै हुँदा थाहा पाउने रोग बच्चा जन्मिँदा समेत चिकित्सकले नभनेको भन्दै साह दम्पतिले बच्चा लिन अस्वीकार गर्दै आएका छन्।
साह दम्पतिले बच्चा लिन नमानेपछि उनीहरुविरुद्ध अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। अस्पतालको रिटमाथि सुनुवाई गर्दै अदालतले साह दम्पतिलाई बच्चा बुझेर लैजान आदेश दिएको थियो।






