‘राजनीति फोहोरी खेल हो भनी कराएर मात्रै जिम्मेवारी पूरा हुँदैन, नालीमै पसेर सफा गर्नुपर्छ’
कामनपाले दिने सेवालाई प्रविधिमैत्री बनाउने उनको लक्ष्य छ। हरेक सेवा डिजिटलमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रण हुनेमा उनी विश्वास गर्छिन्।
काठमाडौं, वैशाख २७ : काठमाडौं महानगरपालिकाको प्रमुखका लागि विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा चुनावी मैदानमा छन्। बास्कोटा विवेकशील साझा पार्टी, बाग्मती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य हुन्।
३८ वर्षीया समीक्षाले आफू निर्वाचित भए सात मूल अजेन्डामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् :
१. भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह।
२. सुलभ, व्यवस्थित, विद्युतीय यातायात।
३. नेवाः कला–संस्कृतिको पुनर्जागरण
४. खुला क्षेत्रको संरक्षण र विस्तार।
५. नदीनालाको सफाइ र पुनस्र्थापना।
६. सफा र व्यवस्थित काठमाडौं।
७. गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।
साझाले पार्टीले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनस्र्थापित गरौँ’ नाराका साथ प्रमुख र उपप्रमुख दुवै उम्मेदवारमा महिलालाई अगाडि सारेको छ। प्रमुखकी प्रत्याशी समीक्षा हुन् भने उपप्रमुखकी कीर्ति तुलाधर।
उम्मेदवारी किन ?
काठमाडौं महानगरलाई एउटा संग्रहालयका रूपमा विकास गर्ने सम्भावना समीक्षाले देखेकी छन्। ‘तर, यहाँ विविध समस्याले जरा गाडेर बसेको छ। त्यसलाई कम गर्न प्रमुखमा उम्मेदवारी दिएकी हुँ,’ समीक्षा भन्छिन्, ‘समयसँगै सरकारले दिने सेवा–सुविधामा पनि परिवर्तन हुँदै जानुपर्ने हो। त्यस्तो हुन सकेको छैन। पुख्र्यौली पेवा जसरी जरा गाडेर बसेका जनप्रतिनिधिले नयाँ योजना बोकेका पुस्तालाई पालो दिनुपर्छ।’
कामनपाले दिने सेवालाई प्रविधिमैत्री बनाउने उनको लक्ष्य छ। हरेक सेवा डिजिटलमैत्री बनाउन सके भ्रष्टाचार नियन्त्रण हुनेमा उनी विश्वास गर्छिन्।
उनको अनुभव र अध्ययनमा, महानगरवासीले व्यवस्थित सार्वजनिक यातायातको सेवा पाउन सकेका छैनन्। यहाँ सार्वजनिक शौचालयको अभाव छ, फोहोर व्यवस्थापन हुन सकेको छैन, खुला क्षेत्रको संरक्षण हुन सकेको छैन, महिलाहरू असुरक्षित छन्। ‘दैनिक सयौँ समस्यासँग गुज्रिएर हिँड्नुपर्ने बाध्यता महानगरवासीलाई छ।
यी समस्यामाथि केन्द्रित रहेर नीति तथा कार्यक्रम ल्याउन पहल गर्छु। डिजिटल सेवामा जोड दिन्छु,’ समीक्षा भन्छिन्, ‘नयाँ पुस्तालाई डिजिटल प्रविधिको ज्ञान छ, जुन प्रयोग गरिएमा दैनिक झेल्ने समस्यामा आधा कम हुन्छन्। अहिले पनि राजस्व तिर्नदेखि कागजपत्र बनाउन कार्यालय धाउनुपर्ने बाध्यता छ। डिजिटलमैत्री सेवा दिँदा सेवाग्राहीलाई सहज हुनुको साथै भ्रष्टाचारका ढोका बन्द हुन्छन्।’
प्रकृतिमैत्री सहरी विकासलाई प्राथमिकता दिने, खाली स्थानमा वृक्षारोपण गर्ने, सार्वजनिक शौचालय तथा पार्क निर्माण, विद्युतीय सवारीसाधनको प्रवद्ध्र्रन, साइकल लेन निर्माण, पार्किङ क्षेत्र व्यवस्थापन, सांस्कृतिक प्रवद्र्धन, कक्षा १२ सम्म निःशुल्क शिक्षा, सामुदायिक विद्यालयको भौतिक संरचनामा सुधार, शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्थापन गर्ने आफ्नो योजना रहेको उनी बताउँछिन्।
‘राजनीतिको फोहोर सफा गर्न आएँ’
समीक्षाको जन्म ललितपुर महानगरपालिका– ७ मा भएको हो। उनका बुवा दीपक प्रकाश बास्कोटा नेपाली कांग्रेसका नेता हुन्। राजनीतिक परिवारमा जन्मिएकाले बाल्यकालदेखि नै राजनीतिप्रति चासो राख्दै आएको उनी बताउँछिन्। अमेरिकाबाट कानुन विषयमा स्नातकोत्तर गरेकी समीक्षा सुरुमा ल फर्मसँगै अर्गानिक चियाको व्यवसाय गर्दै अगाडि बढ्न सोचेकी थिइन्।
उनलाई व्यवसाय सञ्चालन गर्न विभिन्न बाधा अवरोध आइप¥यो, त्यसको कारण बुझ्दै जाँदा नीति–नियम बनाउने पक्षको कमजोरी रहेको उनलाई ज्ञान भयो। ‘त्यसपछि नीतिनियम बनाउने पदमा बसेर काम गर्नुपर्छ भन्ने सोच ममा आयो। पुराना दलमा हुने नातावाद, चाकडी, भ्रष्टाचारले ग्रसित भएको थाहा थियो, पुरानो दलमा प्रवेश गर्न मन थिएन,’ उनी भन्छिन्, ‘०७४ मा विवेकशील साझा पार्टीले गरेको परिवर्तनको कुरा, महिला मुद्दाका विषय उठाएको मलाई राम्रो लाग्यो र प्रवेश गरेँ।’
अन्य दलले धेरै मुद्दा उठाएका छन्। तर, पुराना दल भ्रष्टाचारको दलदलमा रहेको उनको ठम्याइ छ। त्यस दलदललाई सफा राख्न आवश्यक भएको उनी बताउँछिन्। ‘समाजका हरेक पक्ष राजनीतिसँग जोडिएको हुन्छ,’ उनी भन्छिन्, ‘राजनीति फोहोरी खेल हो भनी बाहिर बसेर कराउँदैमा जिम्मेवारी पूरा हुँदैन, नालीमै पसेर फोहोर सफा गर्न राजनीतिमा आएँ।’
समीक्षाको विवाह ०६७ मा कामनपा– ३१ का स्थानीय डा. अनुप मंगल तमालसँग भयो। ‘मेरो घरमा राजनीति गर्न कुनै अवरोध छैन, त्यसैले निर्वाचित भए प्रशस्त समय नगरवासीको सेवामा खर्चिन सक्छु,’ उनले भनिन्।











-(86)-1764936079.jpg)
