Kathmandu Press

‘बेथाञ्चोकलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउन चुनावी मैदानमा छु’

बेथाञ्चोकलाई नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने योजना हो। चुनावी परिणाम जस्तो आए पनि ‘समृद्ध बेथाञ्चोक’ बनाउने मेरो अभियान कहिल्यै रोकिने छैन।
‘बेथाञ्चोकलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउन चुनावी मैदानमा छु’

काभ्रेको बेथाञ्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षका साझा उम्मेदवार रहेका भगवान अधिकारी यतिबेला घरदैलो अभियानमा छन्। पत्रकारितामा एमए गरेका अधिकारी पार्टी पंक्तिमा युवादेखि अग्रज पुस्तासम्म लोकप्रिय छन्। 

अधिकारीले नेपाल विद्यार्थी संघ काभ्रे अध्यक्ष, नेवि संघको केन्द्रीय प्रचार विभाग सदस्य, नेपाल विद्यार्थी संघ केन्द्रीय समिति केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ केन्द्रीय समिति महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेस  सदस्य, केन्द्रीय श्रमिक तथा ट्रेड युनियन विभाग आदि जिम्मेवारी सम्हालेका छन्। राजनीतिक जीवनको सुरुवातदेखि नै निष्ठा, विचार र आदर्शको अनुयायी उनी विभिन्न राजनीतिक आन्दोलनमा अग्रभागमा रहँदा पटकपटक प्रहरी धरपकड तथा थुनामा परे। प्राध्यापकका साथै अधिवक्ता समेत रहेका उनै अधिकारीसँग चुनाव केन्द्रितवार्ता :

के कस्ता योजनालाई प्राथमिकतामा राखी चुनावी प्रचार गर्दै हुनुहुन्छ ? 

Hardik ivf

बेथाञ्चोक गाउँपालिकाको माया र स्नेह मेरो मन–मस्तिष्कमा छ। यहाँ हरेक नागरिकको सुखदुःखको सारथी बन्न सकूँ भन्ने लाग्छ। त्यसैले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेको छु। बेथाञ्चोक शब्द नै प्रिय र आत्मीय छ, मेरा लागि। यी कुरा मेरो प्राथमिकताका हुन्, ती होइनन् भन्ने होइन। बेथाञ्चोकका हरेक कुरा मेरो प्राथमिकतामा पर्छन्। तर पनि मैले भौतिक पूर्वाधारको विकास, कृषिसँगै पर्यटन विकास, बेथाञ्चोकबासीको जीवनस्तरमा सुधार, दिगो व्यवस्थापन र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको छु।

बेथाञ्चोकलाई नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने योजना हो। चुनावी परिणाम जस्तो आए पनि ‘समृद्ध बेथाञ्चोक’ बनाउने मेरो अभियान कहिल्यै रोकिने छैन। यहाँ धेरै सम्भावना छन्, सँगै चुनौती पनि। समस्यालाई अवसरमा परिणत गर्दै ‘हाम्रो गाउँ समृद्ध बनाऔं’ अभियानलाई मूर्त रूप दिनेछु। 

विशेषतः यहाँ कृषि र पर्यटनको प्रचुर सम्भावना छ। कृषि क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा केही योजना हामीसँग छन्। अबको पाँच वर्षमा आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचान बोकेको, दिगो विकासको लक्ष्य अगाडि बढ्दै सबल, सक्षम र समृद्ध बेथाञ्चोक बनाउन चाहन्छु। 

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

कांग्रेसबाट गठबन्धनको साझा उम्मेदवार बनेदेखि यहाँ मतदाता उत्साहित रहेको पाएको छु। मतदाताले हामीले खोजेको र रोजेको उम्मेदवार तपाईं नै हो भन्नुभएको छ। ‘भुग्देउदेखि च्याम्राङबेसीसम्म अनि चलालदेखि कामीडाँडासम्म सबैले चाहेको समृद्धि र दिगो विकास नै हो’ त्यो हामीले पूरा गर्छौं भन्ने उहाँहरूले विश्वास लिनुभएको छ। युवादेखि अग्रज नागरिक आमाबुबाले विश्वास र आशीर्वाद प्रदान गर्नुभएको छ। उहाँहरूको समर्थन र विश्वासप्रति आभारी छु। 

शिक्षा, स्वास्थ्यको विकास र खानेपानीको आपूर्तिका लागि यहाँसँग के योजना छन् ?

गुणस्तरीय र प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकतालाई महसुस गरी विद्यालय शिक्षालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जाहेर गरेका छौं। आवश्यकता अनुसार सामुदायिक आवासीय विद्यालय सञ्चालन गर्ने, बेथाञ्चोक गाउँपालिका भित्रका सबै विद्यालयमा निःशुल्क इन्टरनेटको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम यसै वर्षबाट सञ्चालन गर्नेछौं। आधारभूत तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिनुका साथै बेथाञ्चोकका हरेक विद्यालयलाई नमुना विद्यालय बनाउने अभियानमा हामी सबैले हातेमालो गरी अगाडि बढ्न जरुरी छ। नागरिक स्वास्थ्य अहिलेको गहकिलो मुद्दा बनेको छ। स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्रदान गर्नेछौं। 

अबका दिनमा उपचारकै अभावमा सर्वराधारणले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउनेछैन। जसका लागि हामीले स्वास्थ्य कोषको स्थापना गरी स्वास्थ्य सेवातर्फका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनेछौं। हरेक नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने, ढुंखर्क प्राथमिक अस्पताल र पाँगु भुग्देउ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरयुक्त स्वास्थ्य संस्थाका रूपमा स्थापित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। बेथाञ्चोक अस्थायी अस्पताललाई थप व्यवस्थित बनाई २४सै घन्टा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेमा प्रतिबद्ध छु। १५ मिनेटभित्र एम्बुलेन्सको पहुँच हुने गरी निजी, सार्वजनिक साझेदारीमा ग्रामीण एम्बुलेन्सको व्यवस्था गर्ने लगायत योजना तय गरेका छौं। 

खानेपानीको क्षेत्रमा ‘एक घर एक धारा कार्यक्रम’लाई निरन्तरता दिँदै बाँकी कामलाई तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिएका छौं। ‘बेथाञ्चोक गाउँ, स्वच्छ पानी पिऊँ’ नाराका साथ खानेपानीको बृहत् सम्भाव्यता अध्ययन गरी दातृ निकाय र संघीय बजेट समेत परिचालन गरी एक घर एक धाराको अवधारणामा स्वच्छ खानेपानीको व्यवस्था गर्नेछौँ। मुहान संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नेछौं। 

डाँडापारिका रूपमा रहेको च्याम्राङबेसीको विकासलाई कसरी अगाडि ल्याउन सकिएला ?

यो निकै महत्वपूर्ण प्रश्न हो। विविधताको सम्भावना भए पनि च्याम्राङबेसीलाई विशेष सम्बोधन आवश्यक छ। वडा १ को फुर्केथली तथा भालुछाप्रा, ठूलाखोरिया क्षेत्रलाई चिया खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। यसमा प्रचुर सम्भावना छ। वडा १ को तीनतले झरनादेखि रतौन झरना, छयाङ्छयाङ् लगायतका झरनालाई आधार मानी पूर्वाधार विकास गरी वडाको उत्पादन (चिया, खुवा, कफी)लाई पर्यटन आकर्षणका विषय बनाउन सकिन्छ। यसका लागि मैले त्यहाँका जानकार, विज्ञसँग छलफल गरेको छु। 

स्थानीय गाउँहरूमा होमस्टेको विकास गर्न सकिन्छ। जहाँबाट बेथानचोक नारायण हुँदै ढुंर्खकसम्म सडक मार्ग तथा नमनबाट ललितपुरको कालेश्वर हुँदै गोटिखेलको बैतरणी धामसम्म पुग्ने पदमार्ग निर्माण गर्न सकिन्छ। फुर्केथलीलाई चियाको हबको रूपमा विकास गर्न सके त्यस भेगले मुहार फेर्नेमा दुईमत छैन। च्याम्राङबेसी तथा झिङ्गेमा होमस्टे सञ्चालन गर्ने। त्यस क्षेत्र लगायतको बस्तीलाई झिङ्गे डाँडामा एकीकृत बस्तीका रूपमा आधारभूत पूर्वाधारसहित विकास गर्न आवश्यक छ। 

यसो गरिए ढुंर्खकबाट फुर्केथली झिङ्गे च्याम्राङबेसी हुँदै सडकमार्गबाट पुनः ढुंर्खक नै आइपुग्ने अथवा च्याम्राङबेसी फुर्केथली झिङ्गे सुकुम हुँदै ललितपुरको कालेश्वरबाट गोटिखेलको वैतरणीधामसम्म पर्यटक पैदल यात्रा गर्न सक्ने छन्। यसले त्यस भेगको विकासमा नयाँ आयाम आउनेछ। सुकुम झिङ्गे कलङसिङ लामिडाँडालाई कफीखेती सुकुमलाई आँप लिची तथा केराको पकेट क्षेत्रको सम्भावना प्रचुर देखिन्छ भने यहाँ उत्पादन भएको दूध, चिया र कफीलाई बेथानचोकको ब्रान्ड दिएर बजारीकरण गर्न सकिन्छ। 

यति मात्र होइन, मर्चे क्षेत्रलाई स्याउ तथा जडीबुटी उत्पादन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ। यी सबका लागि त्यस भेगमा सडकको विकासलाई जोड दिनुपर्छ। यसका अतिरिक्त वडाका सबै कृषकलाई व्यावसायिक बनाएर पशुपालन व्यवसायमा आकर्षित गराउने र दुध उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने हो भने च्याम्राङबेसीको मुहारमा पाँच वर्षमा खुसीका रेखा प्रस्ट देखिनेछ।

भुग्देउ पनि पछाडि परेको गुनासा आइरहेका छन् नि !

भुग्देउ पछाडि छैन नै, तर केही दूर भने पक्कै हो। भुग्देउमा मैले सम्भावनै सम्भावना देख्छु। भुग्देउको कोप्तिलदेखि थापाडाँडा–मेदाम्सु हुँदै टार, साँझखोरियादेखि मजुवाबेसी, बाहुनबेसी, आयेँटार, नारायणथान, थिङछाप, सिउरानी र रोशीपारी क्षेत्रमा माहुरीपालन, भैँसी, बाख्रापालनका लागि उर्वर छ। यहाँ पाइने घाँस सोत्तर नै यहाँको वैभव हो। यहाँका जनताले एउटा अभियानै चलाउने हो भने हामी गाउँपालिकाबाट यसलाई विशेष सम्बोधन गर्छौं। यो क्षेत्र बाख्रापालनको हब बन्छ। बाख्रा रिसोर्टका अवधारणा ल्याउनुस्। हामी तपाईहरूसँगै उभिन्छौँ। यस्तै तावरी, भञ्ज्याङकर्ख फ्याङखोला, गोलगाउँ, सिमटार भञ्ज्याङ क्षेत्रमा पशु तथा बाख्रापालनका लागि प्रचुर सम्भावना छन्। लप्सी, केराउ, लसुन, तोरी जुनेलो खेतीका लागि पनि यहाँ धेरै सम्भावना देख्छु।

तावरी, भञ्ज्याङखर्क गोलगाउँ, सिमटार भञ्ज्याङहोमस्टेका लागि थप नयाँ गन्तव्य बन्न सक्छन्। यहाँबाट देखिने हिमशृंखला र महाभारतको चिसो हावापानीले कसको मन नलोभ्याउला र ? यस्तै यो क्षेत्रलाई लप्सी उत्पादनको हबका रूपमा विकास गर्न सकिन्छ, कफी र चिया उत्पादनको पनि पकेट क्षेत्र बन्नेमा दुईमत छैन। 

हो, भुग्देउमा एउटा प्लस टु छैन। यस विषयमा त्यहाँका प्रबुद्ध व्यक्तिसँग बसेर हामी चाँडै छलफल गरेर यसलाई टुंगो लगाउँछौँ। भुग्देउको समृद्धिका लागि हामी जिम्मेवार बन्छौँ। भुग्देउमा साँच्चै वैभव छ।

वडा ५ लाई कसरी लिनुभएको छ ?

बेथानचोक, वडा ५ को आफ्नै विशिष्टता देख्छु। बेथानचोकका सबै वडाको विशेषता यो एकै वडाले बोकेको छ। कामीडाँडाबाट सुरु गरौँ। काभ्रेको चिया बगानका रूपमा आफूलाई उभ्याउँदै गरेको कामीडाँडामा राष्ट्रियस्तरको चिया रिसोर्ट खोल्न सकिन्छ। 
चियाका पारखीका लागि यहाँ उत्पादन भएको चियाका साथै इलाम, दार्जिलिङ, सिक्किमदेखि विश्वका ‘टपमस्ट’ चियाका ब्रान्डको स्वाद लिन सक्ने गरी यहाँ चिया रिसोर्ट खोल्न सकिन्छ।

 दृश्यावलोकनका लागि काभ्रेको उत्कृष्ट भूमिका रूपमा कामीडाँडालाई लिन सकिन्छ। यहाँ रिसोर्ट खोल्न प्रेरित गर्न सकिन्छ। यहाँ रहेको नागपोखरी, खेल मैदानलाई पिकनिक स्पोटका रूपमा पनि विकास गरी यस भेगको आयआर्जनलाई बढोत्तरी गर्न सकिन्छ। च्याल्टीबजारदेखि कपेर महांकालसम्म हाइकिङको रुट बनाउन सकिन्छ। च्याल्टीको वाइबाटोललाई होमस्टेमा विकास गर्न सकिन्छ। चौकीडाँडा, दमार, खरीडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ।

खरीडाँडाको पानीको मुहानलाई थप संरक्षण संवद्र्धन गर्न सकिन्छ। काभ्रेको दक्षिणी भेग मेदाम्सु, भुग्देउ, तावरी, थिङछाप, रोशीटार सिउरानी, फ्याङखोला, बनौती नपाको वडा ११ का बस्तीमा उत्पादन हुने लप्सी संकलन गरी मदनबास, भंगाला क्षेत्रमा साँगाको जस्तै लप्सी संकलन र प्रशोधन केन्द्र स्थापना गरी उद्योग र रोजगारी बढाउन सकिन्छ। त्यस भेगमा स्लेट ढुंगाखानीको पनि राम्रो सम्भावना छ। वडा ५ लाई बौद्धमार्गीको अध्ययन केन्द्रका रूपमा अगाडि ल्याउन सकिन्छ। 

वडा ५ मा जति सम्भावना छन्, त्यसलाई गुरु योजना बनाएरै अघि बढ्न सके पश्चिमा मुलुकमा गएर गरिने कमाई यहीँ प्राप्त हुन्छ। स्थानीयसँग सहकार्य गरी हामी धेरै काम गर्न सक्छौँ। युवाले प्रस्तावना बनाउँदै गर्दा हुन्छ भन्न चाहन्छु। 

अन्तमा पालिकावासीलाई केही भन्न चाहनुहुन्छ कि ? 

बेथाञ्चोकका मतदाताको साथ र समर्थनमा मलाई एकरति शंका छैन। उहाँहरूले दिनुभएको साथ र समर्थनप्रति म पूर्ण विश्वस्त छु। शासक बन्नका लागि होइन जनताको सेवक बन्नका लागि मेरो उम्मेदवारी हो। बेथाञ्चोक नारायणको कृपाले म नामले मात्र होइन, कामले बेथाञ्चोकका जनताका लागि सहयोगसिद्ध बन्न सकूँ। यसपालिको निर्वाचनमा बेथाञ्चोकका आम मतदाताले गर्नुभएको समर्थनलाई अमूल्य मत प्रदान गरेर मलाई विजयी गराउनेमा म ढुक्क छु। बेथाञ्चोक नारायणप्रति मेरो जति आस्था छ, त्यति नै विश्वास बेथाञ्चोकका मतदाताप्रति रहेको छ। 
 

प्रकाशित मिति: १३:३५ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्