Kathmandu Press

‘विकास र सामाजिक न्यायका लागि युवाहरू राजनीतिमा आउनुपर्छ’

कृष्णपुर नगरपालिकाका दलित तथा पिछडिएका समुदाय र महिलाको क्षेत्रमा खासै काम हुन सकेको छैन । उनीहरूको उत्थानका लागि पनि मञ्जुले उम्मेदवारी दिएकी हुन् । 
‘विकास र सामाजिक न्यायका लागि युवाहरू राजनीतिमा आउनुपर्छ’

काठमाडाैं, वैशाख २७ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका लागि उपप्रमुख उम्मेदवार रहेकी मञ्जु नेपाली अहिले चुनावी प्रचारमा छन् । २५ वर्षीया मञ्जु स्थानीय तहको विकाससँगै महिला र उत्पीडित वर्ग तथा समुदायको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन् । 

डडेल्धुराको तत्कालीन बेलापुर गाविस– ९ मा एक मध्यमवर्गीय परिवारमा जन्मेकी मञ्जुले बिबिएससम्मको अध्ययन पूरा गरेकी छन् । मञ्जु सात वर्षकी हुँदा उनको परिवार बसाइँ सरी कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ मा आएको थियो । 

मञ्जुका ठूला बुवा गोरख नेपाली नेकपा एमालेबाट राजनीतिमा सक्रिय थिए । पछिल्लो समयको पार्टी विभाजनयता गोरख एकीकृत समाजवादी पार्टीबाट प्रदेश समिति सदस्य छन् । गाउँ–समाजमा गोरखको राजनीतिक प्रभाव राम्रै थियो र छ । 

Hardik ivf

राजनीतिक समारोह, कार्यक्रम हुँदा गोरखले मञ्जुलाई पनि सँगै लैजाने गर्थे । गीत–संगीतमा रुचि भएकी मञ्जु कहिलेकाहीँ राजनीतिक कार्यक्रममा गाउने गर्थिन् । राजनीतिक समारोहमा अग्रज नेता तथा कार्यकर्ताको भाषण सुनेर र उनीहरूसँगको भेटघाटले मञ्जु राजनीतितर्फ आकर्षित हुन पुगिन् ।

‘देश गणतन्त्रमा गइसकेपछि भएका तीन तहको निर्वाचन, जनप्रतिनिधिका कामको शैली र सामाजिक न्याय सम्बन्धमा भइरहेका बहसलाई नियालेँ,’ मञ्जु भन्छिन्, ‘परिवर्तनसँगै केही राम्रा काम पनि भएका छन् । अझ हामीजस्तो पढेलेखेको युवा राजनीतिमा आउने हो भने धेरै गर्न सकिन्छ भन्ने मलाई लाग्यो ।’

मञ्जुले २०७६ मा नेकपा एमालेको सदस्यता लिएर राजनीतिमा लागिन् । पार्टी विभाजनयता उनी एकीकृत समाजवादीमा सक्रिय छन् । आफू राजनीतिमा लाग्नुको सम्पूर्ण श्रेय उनले आफ्ना ठूलो बुवालाई दिन्छिन् । 

उम्मेदवारी किन ?

मञ्जुको बुझाइ र विश्लेषणमा सुदूरपश्चिम प्रदेशका महिला विविध उत्पीडन तथा हिंसा सहन बाध्य छन् । उनीहरूलाई सामाजिक न्याय आवश्यक छ । आर्थिक रूपमा आत्मनिर्भर नभएकाले महिलाहरू पछाडि परेका हुन् । महिलाको क्षमता अभिवृद्धि गरेर आर्थिक रूपमा उनीहरूलाई सबल बनाई हिंसामुक्त नगरपालिका बनाउन आफ्नो उम्मेदवारी रहेको उनी बताउँछिन् ।

त्यस्तै, कृष्णपुर नगरपालिकाका दलित तथा पिछडिएका समुदाय र महिलाको क्षेत्रमा खासै काम हुन सकेको छैन । उनीहरूको उत्थानका लागि पनि मञ्जुले उम्मेदवारी दिएकी हुन् । 

मञ्जुका अनुसार, कृष्णपुर नगरपालिकाका केही स्थानमा कालोपत्रे सडक सुविधा भए पनि धेरै स्थानका सडक कालोपत्रे हुन सकेको छैन । नदी छेउका गाउँमा तटबन्धनका अभावले बाढीको समस्या छ । नगरवासीलाई बिजुलीबत्तीको समेत समस्या छ । कञ्चनपुरको पानीमा आर्सेनिक पाइने गर्छ । अझै पनि नगरपालिकाका धेरै वडामा खानेपानीको अभावले गर्दा ट्युब वेल तथा बोरिङकै पानी पिउनुपर्ने बाध्यता छ । त्यस्तै, कृषकका लागि बजारीकरणको अभाव छ । महिलाहिंसाको घटना पनि त्यत्तिकै बढ्दो क्रममा छन् । 

‘म विजयी भए यिनै आधारभूत समस्यालाई विशेष जोड दिएर काम गर्ने योजना छ,’ उनी भन्छिन्, ‘अहिले पनि नगरपालिकाभित्र बालविवाहको प्रचलन छ । यसमा कडाइका साथ काम गर्नुपर्नेछ । महिलालाई घरेलु उद्यमतिर आकर्षण गर्ने खालका सीपमूलक तालिममा मेरो विशेष ध्यान रहनेछ ।’ 
 

प्रकाशित मिति: ११:१० बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्