Kathmandu Press

सीता जयन्तीबाट सभ्य समाजको निर्माणका लागि प्रेरणा मिलोस्: राष्ट्रपति

काठमाडौं, वैशाख २७: राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना...
सीता जयन्तीबाट सभ्य समाजको निर्माणका लागि प्रेरणा मिलोस्: राष्ट्रपति

काठमाडौं, वैशाख २७: राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।

आज राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै राजर्षी जनककी छोरी एवं नेपाल भूमिकी गरिमामयी पुत्री, राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसका अवसरमा शुभकामना दिएकी छन्।

प्राचीन मिथिलाको केन्द्र मानिएको जनकपुरसहित देशभरिका राम, जानकी मन्दिरमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन विशेष पूजाअर्चनासहित सीता उत्पत्ति दिवस अर्थात् सीता जयन्ती मनाउने गरिन्छ।

माता सीताको आदर्शबाट प्रेरित वैदिक समाज र त्यस बखतको राज्य सञ्चालन प्रक्रियामा मातृ शक्तिको भूमिकाले हाम्रो समृद्ध प्राचीन सभ्यताको परिचय दिन्छ।

युग व्यतीत भएपछि इतिहासका कतिपय पक्ष वर्तमानका परम्परा वा संस्कृतिमा रूपान्तरण हुन्छन्। वैदिक सभ्यताका धेरै मानक ग्रन्थमा सीता उत्पत्तिका कथा पाइएको हुनाले माता सीताको जन्म हाम्रो पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहरका रूपमा रहिआएको छ। सनातन संस्कृतिमा नारी शक्तिको महत्व दर्शाउने पर्वका रूपमा सीता जयन्तीलाई हामीले ग्रहण गर्नुपर्ने शुभकाना सन्देशमा भनिएको छ।  

जानकी, वैदेही, जनकनन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धापूर्वक लिइने गरिएको छ। एक वीराङ्गनाका रूपमा समेत परिचित जनकनन्दिनी सीतासँग कैयन शूरवीरले समेत उचाल्न नसक्ने भीमकाय शिवधनुलाई आफू बालिका छँदै सजिलै उठाउन सक्ने असाधारण क्षमता रहेको जनविश्वास छ। आदर्श नारीका रूपमा सम्मानित माता सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी सबैका लागि गौरवको विषय हो।

सीता जयन्तीको यस पावन दिवसले लैङ्गिक असमानतालगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपति भण्डारीले लिएकी छन्।

त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञको अनुष्ठान गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणमा गरिएको छ।

प्रकाशित मिति: ०६:२८ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्