३२ करोड नतिरी हिँडेको एयर एसिया पुनः नेपालमा उडान गर्न लविङ गर्दै
काठमाडौं कात्तिक ५ : नेपाललाई ३२ करोड रुपैयाँ नतिरेर भागेको मलेसियाको एयर एसियाले पुनः उडान गर्न लविङ थालेको छ।
एयर एसियाले गत वर्षको असोज २....
काठमाडौं कात्तिक ५ : नेपाललाई ३२ करोड रुपैयाँ नतिरेर भागेको मलेसियाको एयर एसियाले पुनः उडान गर्न लविङ थालेको छ।
एयर एसियाले गत वर्षको असोज २७ देखि मलेसिया–काठमाडौं उडान बन्द गरेको थियो। उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल पर्यटन बोर्डको झन्डै ३२ करोड रुपैयाँ बक्यौता तिरेको छैन।
नेपालको श्रम मन्त्रालय र मलेसियाबीच विवाद हुँदा नेपाली कामदार मलेसिया पठाउन बन्द गरिएको थियो। सोही क्रममा यात्रु नपाएको भन्दै एयर एसियाले सरकारलाई तिर्नुपर्ने बक्यौता नतिरिकन उडान बन्द गरेको थियो। त्यतिबेला नेपालमा दैनिक दुई वटा उडान गरिरहेको थियो।
विगतमा एयर एसियाको अकुपेन्सी ८० प्रतिशत रहेकोमा मलेसिया रोजगारी बन्द भएसँगै ४० प्रतिशतमा झरेको थियो।जसका कारण एयरलाइन्सले नेपाल उडान बन्द गरेको थियो। हाल नेपाल वायुसेवा निगम, मलेसियाको मालिन्दो र हिमायल एयरलाइन्सले मलेसिया उडान गर्दै आएका छन्।
एयरलाइन्सले उडान बन्द गर्नु अघि साँवा, ब्याज गरी विमानस्थल कार्यालयलाई ४० करोड रुपैयाँ तिर्नु पर्ने बक्यौता रहेको थियो। त्यतिवेला साँवा २७ करोड रुपैयाँ विमानस्थललाई बुझाएको थियो। बाँकी रहेको १३ कारोडमा अहिले साँवा, ब्याज र जरिवाना गरेर २४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल पर्यटन बोर्डलाई बुझाउनुपर्ने सेवा शुल्क समेत सात करोड रुपैयाँ रहेको छ। त्यसमा पनि व्याज थप भएकाले एयरलाइन्सले नेपालमा ३५ करोड रुपैयाँ हाराहारी बुझाउनु पर्नेछ। अहिले नेपाल सरकारले पुनः मलेसियामा खुल्ला गरेसँगै उडान गर्नका लागि एयर एसियाले लबिङ सुरू गरेको हो।
एयरलाइन्सका प्रतिनिधिहरु आएर नेपालले बदनाम गरेको आरोप लगाउँदै उडान गर्न दिनका लागि नागरिक उड्डयन प्राधिकरणमा लबिङ गरेका हुन्।प्राधिकरणले भने विगतको बक्यौता रकम चुक्ता गरेर मात्रै प्रक्रिया अगाडि बढाउन सुझाव दिएको स्रोतले जानकारी दिएको छ।






