अतिकम विकसित मुलुकका सुरक्षा र विकासले प्राथमिकता पाउनुपर्छ : उपप्रम पोखरेल
काठमाडौं, कात्तिक ५ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिस्पर्धात्मक बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद....

काठमाडौं, कात्तिक ५ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिस्पर्धात्मक बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा प्राथमिकता पाउनुपर्ने बताएका छन् ।
चीनको राजधानी बेइजिङ्गमा २० देखि २२ अक्टोवर, २०१९ सम्म आयोजना भएको नवौँ बेइजिङ जियाङशान फोरमको तेस्रो पूर्ण सत्रमा मंगलबार विशेष वक्ताको रूपमा सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।
बेइजिङबाट रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले दिएको जानकारीअनुसार, रक्षामन्त्री पोखरेलले नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती हो । कुनै एक ठाउँको गरिबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकहरूले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक छ ।’
आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा नहुँदै पनि विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रहरूले जलवायु परिवर्तका असरहरू भोगिरहेको बताउँदै उनले भने, ‘पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकहरूले आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ ।’
नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याहरूको बारेमा विकसित र औद्योगिक मुलुकहरूको ध्यानाकर्षण गराउनुहुँदै उनले भने, ‘हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेको छ । त्यसमा सहभागिताका लागि सबैलाई आमन्त्रण गर्दछु ।’
एक दशकलामो सशस्त्र द्वन्द्वलाई नेपालले मौलिक शान्ति प्रक्रियाबाट हल गरी भर्खरै गणतान्त्रिक संघीय संरचनामा प्रवेश गरेको बताउँदै उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व र शान्ति कायम भएको छ । वर्तमान सरकारको ध्यान अब आर्थिक समृद्धि र सुशासनलाई प्रवर्द्धन गर्ने दिशामा केन्द्रित भएको छ ।
‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन सोचअनुसार वर्तमान सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग क्षेत्रको विस्तार, जलविद्युत, पर्यटन र पूर्वाधार क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारलाई रणनीतिक क्षेत्रको रूपमा पहिचान गरी विभिन्न कार्यक्रमहरू अघि बढाइरहेको उनले बताए ।
मन्तव्यक क्रममा उपप्रम पोखरेलले नेपाल विश्वका १४ मध्ये १० उच्च हिमश्रृङ्खला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश भएको बताए ।
नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा विभिन्न कार्यक्रमहरूसहित मनाउन गइरहेकोमा उक्त वर्षमा नेपाल भ्रमणमा आउन सबैलाई हार्दिक निमन्त्रणा पनि दिए ।
चाइना एसोसिएसन फर मिलिट्री साइन्स र चाइना इन्स्टिच्युट फर इन्टरनेशनल स्ट्राटेजिक स्टडिजले संयुक्त रूपमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठको अवसर पारेर आयोजना गरेको त्रिदिवसीय फोरमको नारा ‘मेन्टेनिङ इन्टरनेशनल अर्डर एण्ड प्रोमोटिङ पिस इन एसिया प्यासिफिक’ रहेको छ ।
सन् २००६ देखि आयोजना हुन थालेको यो फोरममा क्षेत्रीय तथा अन्तर्रा्ष्ट्रिय सुरक्षा सरोकारका समसामयिक विषयहरूमा यस क्षेत्रका नीति निर्माता र सहभागीहरूबीच बृहत् छलफल हुने गरेको छ ।
विश्वका ६८ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूले भाग लिएको यो फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना मन्तव्यमार्फत् चीन विश्व शान्ति, स्थायित्व र मानवजातिको संयुक्त समृद्धिको पक्षमा रहेको बताएका थिए ।
रक्षामन्त्री पोखरेल २२ अक्टोबरकै साँझ बेइजिङस्थित नेपाली राजदूतावासले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा तथा दशैँ¸ तिहार¸ छठ लगायतका नेपालका महत्त्वपूर्ण सामाजिक–सांस्कृतिक पर्वको उपलक्ष्यमा आयोजना गरेको स्थानीय नेपाली समुदायबीच भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी हुनेछन् ।











