Kathmandu Press

बागी उम्मेदवारी फिर्ता नलिए कुनै हालतमा माफी हुन्न : देउवा

कैलाली, वैशाख २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता नलिए कुनै पनि हालतमा माफी नदिने बताएका छन्। निर्वाचन हुन...
बागी उम्मेदवारी फिर्ता नलिए कुनै हालतमा माफी हुन्न : देउवा

कैलाली, वैशाख २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता नलिए कुनै पनि हालतमा माफी नदिने बताएका छन्। 

निर्वाचन हुन पाँच दिन मात्र बाँकी रहँदा आज (सोमबार) कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय सरकार गठबन्धनले जित्नु जरुरी रहेको र त्यसमा बागीले बाधा गर्ने हुनाले कारबाही गर्ने चेतावनी दिएका हुन्। बागीकै कारण विगतमा पनि हार बेहोरिसकेको उनको भनाइ थियो। संघीय सरकारलाई बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनु जरुरी रहेको उनको भनाइ थियो।   

‘बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ। बागी उठ्दा हामीले पहिले पनि हारेका हौं,’ उनले भने, ‘अहिले पनि बागी उठेर पार्टी हार्‍यो भने कुनै पनि हालतमा माफी गरिनेछैन।’

यो चुनावमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने देउवाको भनाइ थियो।  ‘संसद् विघटन गर्ने, चल्न नदिने एमालेले जितेको अवस्थामा स्थानीय तह, प्रदेश र संसद नै विघटन हुन सक्छ।’ 

उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे। ‘अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्नु जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस्।’

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्