Kathmandu Press

गठबन्धन चुनावका लागि मात्र होइन : उपसभापति खड्का

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन्...
गठबन्धन चुनावका लागि मात्र होइन : उपसभापति खड्का

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थानीय चुनावको लागि मात्र नभइ शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि पनि रहेको बताएका छन् । कसैलाई जिताउन वा हराउनका लागि नभइ संविधानको रक्षा गर्नका लागि गठबन्धन बनाएको उनले बताएका छन्। 

उपसभापति खड्काले आज सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नका लागि गठबन्धन बनाइएको दाबी गरे। ‘गिरिजाबाबु र प्रचण्डले सुरुआत गर्नुभएको जुन शान्ति प्रक्रिया छ त्यसलाई पूर्णता दिन आवश्यक छ,’ खड्काले भने, ‘त्यसैले यो गठबन्धन स्थानीय चुनाव जित्न मात्र होइन शान्ति र विकासका लागि आवश्यक छ।’ 

उपसभापति खड्काले गठबन्धन बाहेकका दललाई भोट हाले पार्टीले कारबाही गर्ने बताए। ‘आफ्ना प्रतिस्पर्धाका कुरा काटेर होइन आफ्ना प्रतिबद्धता राखेर मत माग्नुहोस,’ गठबन्धनका नेतालाई उनले भने, ‘आफ्ना कार्यक्रम र प्रतिबद्धता राखेर भोट मागौँ, इमानको राजनीति गर्नुपर्छ, कुरा काटेर होइन ।’ नेपाली कांग्रेसका उपसभापति खड्काले विकासका कामलाई निरन्तरता दिनको लागि गठबन्धनलाई विजयी गराउन  वीरेन्द्रनगरका मतदातालाई आग्रह गरेका छन्। 

वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा कांग्रेसले प्रमुखमा उपेन्द्र खड्कालाई र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्