काठमाडौं-३२ मा गठबन्धनबीच तालमेल, एकीकृत समाजवादीलाई वडाध्यक्ष
काठमाडौं, वैशाख २६ : काठमाडौं महानगरपालिका–३२ मा सत्ता गठबन्धनमा आबद्ध तीन दलको चुनावी तालमेल हुने भएको छ।उक्त वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र...
काठमाडौं, वैशाख २६ : काठमाडौं महानगरपालिका–३२ मा सत्ता गठबन्धनमा आबद्ध तीन दलको चुनावी तालमेल हुने भएको छ।
उक्त वडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल हुने भएको हो।
आज (सोमबार) तीन दलले तालमेल गर्ने निर्णय गरेसँगै सो वडाको अध्यक्षका लागि एकीकृत समाजवादीकी सीता कँडेल (पराजुली) सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनेकी छन्।
कांग्रेस वडा सभापति सुभास चन्द्र पराजुली, माओवादी केन्द्रका संयोजक रामसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीकी वडाध्यक्ष सीता कँडेल (पराजुली) ले चुनावी तालमेलका लागि गरिएको प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
त्यसैगरी महिला सदस्य उम्मेदवारमा एकीकृत समाजवादीकी सरिता खनाल, खुला सदस्यमा कांग्रेसका सुवास रिमाल र रुद्रकुमार लाकौल गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन्।
‘यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक आन्दोलन र आन्दोलनका उपलब्धिहरुको रक्षा गर्ने दलहरुबीच केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने सहमतिअनुसार हामीले यस वडा नं. ३२ मा सद्भावपूर्ण सहकार्यका साथ अगाडि बढ्ने निर्णय गरेका छौं,’ प्रतिबद्धतापत्रमा उल्लेख छ।











