Kathmandu Press

नेपाल भ्रमणमा आउन भारतीय राष्ट्रपति कोविन्द इच्छुक

काठमाडौं, कात्तिक ५ : सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रा....

नेपाल भ्रमणमा आउन भारतीय राष्ट्रपति कोविन्द इच्छुक
रासस

काठमाडौं, कात्तिक ५ : सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ। भेटवार्तामा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाई नेपाल भ्रमणका लागि दिएको निम्तोको विषयमा चर्चा भएको छ।

भेटवार्तामा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्ति गरे। उनले निमन्त्रणा स्वीकार गरेको उल्लेख गर्दै कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताए। सन् २००६ मा सांसद हुँदा भने कोविन्दले  नेपाल भ्रमण गरेका थिए।

अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै  यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरेका छन्।

भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे। दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको  भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ।

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद  दिएको छ।

भेटवार्तामा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी सहभागी थिए।

त्यस्तै भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए।

प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्