स्थानीय निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाईँ हो : प्रचण्ड
काठमाडौं, वैशाख २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाईँ भएको बताएका छन् ।सोमबार अपिल जारी...
काठमाडौं, वैशाख २६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाईँ भएको बताएका छन् ।
सोमबार अपिल जारी गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धीविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको बताएका छन् । ‘संघीयता र समावेशी, समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले यतिबेला संविधान र ऐतिहासिक उपलब्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन्,’ अपिलमा भनिएको छ,‘ त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईँका रुपमा लिएका छौं।’
उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, उत्पीडित जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सिंहदरबार केन्द्रीयत जनताको घरदैलौमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र समाजिक न्याय अझै पनि जनताले अनुभूतिगर्न सकेका छैनन् । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषताका आधारित विकास, शिक्षा–स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायासहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ,’ अपिलमा उल्लेख छ।
कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्यागिकिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसीना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने पनि बताउँदै प्रचण्डले इतिहासले माओवादीलाई सोे जिम्मेवारी सुम्एिको छ।
‘हामीलाई यथास्थितिमै रुमल्लिन रहर र छुट दुबै छैन । त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईँमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकारभित्रको हसियाँ हथौडा’ चुनाव चिन्हमा र गठबन्धनका उम्मेदवारको चुनाव चिन्हमा मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौं,’ अपिलमा भनिएको छ।











