प्रधानमन्त्री धनगढीमा, आज रंगशालामा चुनावी सभा
धनगढी, वैशाख २६: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्।आज धनगढीको रंगशालामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा...
धनगढी, वैशाख २६: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन्।
आज धनगढीको रंगशालामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन्। उनी आइतबार साँझ पोखराबाट धनगढी पुगेका हुन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढीमै छन्। उनी पनि आइतबार साँझ धनगढी पुगेका हुन्।
आज दिउसो धनगढी रंगशालामा सत्तारुढ गठबन्धनको चुनावी सभा हुँदै छ। प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा र माओवादी नेत्री शान्ति अधिकारी उपमेयरमा उम्मेदवार छन्।
प्रधानमन्त्री देउवा आजै डडेल्धुरा जाने कार्यक्रम रहेको छ। त्यहाँ पनि चुनावी सभालाई सम्बोधन गर्नेछन्।
त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड पनि आज सुदूरपश्चिममै हुनेछन्। उनले कैलालीको हसुलिया, कञ्चनपुरको बेलौरी र डोटीमा चुनावी सभालाई सम्बोधन गर्नेछन्।











