अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्छ : गृहमन्त्री खाण
काठमाडौं, वैशाख २५ : गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या...
काठमाडौं, वैशाख २५ : गृहमन्त्री बालकृष्ण खाणले सत्य तथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् ।
आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाणले सत्य तथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पुर्याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताएका हुन् । नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सास्कृतिकलगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो ।
अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र आगामी यो भन्दा प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताए । राज्यलाई तत्काल सथ्य तथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अंग भएको उनको भनाइ थियो ।
अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए । लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुँने गृहमन्त्री खाणले बताए । गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौति बढेको भन्दै त्यो चुनौतिलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए ।
गृहमन्त्री खाण र गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौति र सरकारले गर्नुपर्ने कामबारे अवगत गराएका थिए ।











