वर्षा सुरु हुनुअघि नै मेलम्चीको पानी रोकिने
काठमाडाैं, वैशाख २५ : मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ।दुई साता पहिले अस्थायी संरचनाबाट...
काठमाडाैं, वैशाख २५ : मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ।
दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो।
हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गत वर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
'सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ,' उनले भन्नुभयो। काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन्।
कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ। वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ।
गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनः वितरण सुरु गरेको थियो।
पहिलो दिन ५ करोड लिटर पानी वितरण सुरु भएकाेमा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो।
गत फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो। उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो।
सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगे पनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन।
असारमा पटकपटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन। सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो।
अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन। आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन।
दातृ निकाय एशियाली विकास बैंक (एडिबी) ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ। बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ।











