अवसरवादीहरुले सत्ता गठबन्धनलाई टुटाउन खाेजिरहेका छन् : प्रचण्ड
पोखरा, वैशाख २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवसरवादीहरुले सत्ता गठबन्धनलाई टुटाउन प्रयास गरिरहेको बताएका छन्।पोखरामा आज (आइतबार) आयोजित सत्तारुढ गठबन्धनको चुनावी...
पोखरा, वैशाख २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवसरवादीहरुले सत्ता गठबन्धनलाई टुटाउन प्रयास गरिरहेको बताएका छन्।
पोखरामा आज (आइतबार) आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई प्रतिगमनबाट बचाउन, संविधानको रक्षा गर्न र लोकतान्त्रिका गणतन्त्र बचाउन गठबन्धनको जन्म भएको बताए।
गठबन्धनबाट देशकाे हित हुनुका साथै सबै पार्टीलाई फाइदा पुगेकाे उनकाे भनाइ थियाे।
गठबन्धन बनेकैले मुलुक ठुलो दुर्घटनाबाट बचेको उनको भनाइ थियो। ‘यो गठबन्धन नजन्मिएको भए देश दुर्घटनामा जाने खतरा परिसकेको थियो। राजनीति दुर्घटनामा जान्थ्यो। अराजकताको भूमरीमा फस्थ्यो।’ उनले राजनीतिक स्थायित्वको सुरुवात यही गठबन्धनबाट गर्ने संकल्प गरेको बताए।
‘हामी गठबन्धनका पक्षधर शक्तिहरु भने धेरै अप्ठेरो सहेर यो गठबन्धनलाई अगाडि बढाउने र भोलि प्रदेश र संघीय निर्वाचनसम्म पनि लैजाने संकल्प लिएका छौं तर अवसरवादीहरू कसरी भत्काउने भनेर दाउ हेरिरहेका छन्।’
प्रचण्डले संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। याे निर्वाचन अग्रगमन र प्रतिगमनबीच हुन लागेकाले अग्रगामी शक्तिकाे प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनलाई जिताउन र सामन्तीहरूलाई पराजित गर्न उनले अपिल गरे।











