प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, वैशाख २५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रहरी नायब निरीक्षक रुपनारायण महताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक महताविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार महतोले लेनदेन केस मिलाइदिने भनी सेवाग्राहीसँग ३८ हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले महतोलाई वैशाख ६ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका सिलसिलामा महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
महतोलाई ३८ हजार रुपैयाँ बिगो कायम गराई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही चलाउन माग गरिएको छ।











