Kathmandu Press

आयोगलाई ओलीको प्रश्न : कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ? 

उनले दलभित्रको अनुशासनको विषय सम्बन्धित दलको विषय हुने बताउँदै निर्वाचन आयोगले दलभित्रको अनुशासनको विषयमा चेतावनी दिन नमिल्ने बताए ।
आयोगलाई ओलीको प्रश्न : कांग्रेसका लागि भोट माग्ने प्रचण्डलाई के कारवाही हुन्छ? 

काठमाडौं, वैशाख २५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले पाँच दलीय गठबन्धनको ढाल बनेर काम गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले गठबन्धनको बागी उम्मेदवारलाई रोक्नकै लागि एक दलको कार्यकर्ताले अर्को दलको प्रचार गर्न नपाइने प्रावधान ल्याएको बताएका हुन्। 

उनले दलभित्रको अनुशासनको विषय सम्बन्धित दलको विषय हुने बताउँदै निर्वाचन आयोगले दलभित्रको अनुशासनको विषयमा चेतावनी दिन नमिल्ने बताए ।  ‘दलविरुद्ध लागेको अवस्थामा सम्बन्धित दलले नै कारवाही गर्छ, निर्वाचन आयोगले कारवाही गर्नुपर्ने आवश्यकता के हो ?’ ओलीले प्रश्न गरे । निर्वाचन आयोगले यस्तो नियम बनाउनुको कारण आम जनतालाई स्पष्ट पार्नुपर्ने उनको धारणा छ। 

ओलीले गठबन्धनको नाममा एउटा पार्टीको नेतृत्वले नै अर्को पार्टीलाई भोट माग्दा भने निर्वाचन आयोग आँखामा कालो पट्टी बाँधेर बसेको बताए । काठमाडौंमै प्रचण्डले सिर्जना सिंहका लागि भोट मागेको प्रसँग जोड्दै उनले प्रचण्डलाई पनि कारवाही हुनुपर्ने बताए । ‘उहाँहरुलाई के हुन्छ कारवाही ? उहाँहरुले क–कसका झण्डा बोक्नुभएको छ ? उहाँहरुले क–कसको भोट माग्नुभएको छ ?’ उनले भने, ‘उहाँहरुप्रति चाहीँ निर्वाचन आयोग कालो चस्मामात्र होइन, कालो पट्टी नै बाँधरे बसेको छ।’

उनले काठमाडौंमा मात्र नभई सातै प्रदेश, जिल्ला र पालिकाहरुमा गठबन्धनको नाममा एक पार्टीले अर्को पार्टीका लागि भोट मागिएको बताए । ‘सातै प्रदेशमा आम सभा गरेर अर्काकै प्रचार गर्दै छन् त,निर्वाचन आयोगले देखेको छैन ? उनले प्रश्न गरे । 

गठबन्धनकै कारण महिलाको अधिकार खोसिएको ओलीले बताए । एक पदमा पुरुष उठ्दा महिला उठाउनुपर्ने व्यवस्था गठबन्धनकै लागि आयोगले हटाएको उनको आरोप छ । गठबन्धन चिन्दैनौं पनि भन्ने, फेरि यस्ता कुरालाई चाहीँ इग्नोर गर्ने ?’ उनले भने। ओलीले निर्वाचन आयोगलाई यस्ता व्यवहार र गतिविधि नगर्न आग्रह गरे ।  
  
 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, वैशाख २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्