बागमती किनारबाट पाँच मेट्रिक टन फोहोर व्यवस्थापन
काठमाडौं, वैशाख २५ : बागमती सफाइ महाअभियानको ४६९औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदीमा सफाइ गरी पाँच मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।अधिकार सम्पन्न बागमती...
काठमाडौं, वैशाख २५ : बागमती सफाइ महाअभियानको ४६९औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदीमा सफाइ गरी पाँच मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, काठमाडौं महानगरपालिका–९ का पूर्ववडा सदस्य टेकराज अधिकारी, तिलगङ्गा महिला समूह, सिभिल क्यापिटल मर्चेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत झनक ढुङ्गेल, काठमाडौं महानगरपालिका फोहोर व्यवस्थापन विभाग टेकु, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, स्थानीयवासी एवं बागमती सफाइ अभियानकर्मी लगायतको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले बताए।
अर्को शनिबार पनि सिनामङ्गलस्थित बागमती पुलको ५०० मिटर दक्षिण बागमती किनारमा बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ सफाइ गरिने जनाइएको छ।
२०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ। हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ।
काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। राजधानीबाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ।
यसैगरी आज गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ। ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ। (रासस)











