Kathmandu Press

मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ

काठमाडाैं, वैशाख २४ : मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन्।पक्राउ पर्ने बेहुला झापा गाउँपालिका–४...
मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ

काठमाडाैं, वैशाख २४ : मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन्।

पक्राउ पर्ने बेहुला झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

उनका अनुसार मेचीनगर–१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग  चौधरीको शुक्रबार विवाहको दिन थियो। बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए।

आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदासमेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो। अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ।

पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकैदिन विवाह थियो। अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ। लेनदेन भन्नाले दाइजोसमेत बुझिन्छ।

यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ।

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्