Kathmandu Press

गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धाको बजारमा ल्याउनुपर्छ : मन्त्री कार्की

काठमाडाैं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने...
गोरखापत्रलाई डिजिटल प्रतिस्पर्धाको बजारमा ल्याउनुपर्छ : मन्त्री कार्की

काठमाडाैं, वैशाख २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।

गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रुपान्तरणमा यसको भूमिका छ भन्ने पाठक वर्गमा विश्वास दिलाउन आग्रह गरे।

सञ्चारमन्त्री कार्कीले गोरखापत्र सरकारको पत्रिका नभई नेपाली जनताको पत्रिकाको रुपमा कसरी विकसित गर्न सकिन्छ, त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी छ भन्नुभयो । उहाँले भन्नुभयो, “गोरखापत्रलाई स्मार्ट यात्रामा लैजाने भनिएको छ।

स्मार्ट यात्रा प्रकाशकीयमा लेखेर, भाषण गरेर र दस्तावेज बनाएर मात्रै पूरा हुँदैन । त्यसलाई व्यावहारिक रुपमा उतार्न सरकार साथमा छ, कर्मचारीहरु जिम्मेवारपूर्वक लाग्नुस्।'

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले पत्रकारिता जगतको समस्या र अवसरबारे वर्तमान सरकार सजग र जानकार रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निष्ठापूर्वक र दृढताका साथ रक्षा गर्न यसको पक्षमा उभिने विश्वास व्यक्त गरे। 

उनले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एशियाकै उत्कृष्ट रुपमा विकसित र मर्यादित गर्न सबै पत्रकारहरुलाई आग्रह गरे।

देशकै पहिलो अखबर गोरखापत्र पत्रिकामा मात्र नभएर एउटा गौरवशाली संस्था पनि रहेको भन्दै मन्त्री कार्कीले अब गोरखापत्रलाई कसरी अघि बढाउने भन्ने विषयको बहस प्रारम्भ भएको उल्लेख गरे।

'एशियामा विरलै पाइन्छ । यति लामो समयसम्म अभिछिन्न रुपले निरन्तर प्रकाशित हुने गोरखापत्र। गोरखापत्र गौरवको संस्थामात्र नभई यो प्रतिष्ठानको पाठशालाको रुपमा समाजले बुझेको छ। समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रुपमा समाजले स्वीकारेको र इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तै अटल उभिएको छ,' उनले भने।

सञ्चारमन्त्री कार्कीले नियन्त्रित समाज र खुला समाज दुवैको साक्षी बनेको गोरखापत्रले आफ्नो लामो कालखण्डमा धेरै आरोहअवरोह पार गरेको चर्चा गर्दै गोरखापत्र नेपालको राजीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको एक साक्षी भएकाे बताए। 

प्रकाशित मिति: १६:४७ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्