तिहारका लागि चीनबाट आयो ६५ करोडको झिलिमिली बत्ती
काठमाडौं, कात्तिक ४ : तिहार नजिकिएसँगै गाउँघरमा तयारी पनि सुरू गर्न थालिएको छ। फूलको जाँचोपाँजो गर्ने, भाइमसला जुटाउने तथा दीयो बनाउनेलगायतका तयारी सु....

काठमाडौं, कात्तिक ४ : तिहार नजिकिएसँगै गाउँघरमा तयारी पनि सुरू गर्न थालिएको छ। फूलको जाँचोपाँजो गर्ने, भाइमसला जुटाउने तथा दीयो बनाउनेलगायतका तयारी सुरू भएका छन्।
शहरमा भने तिहारका सामग्री भित्रिसकेका छन्। विशेष गरेर चीनबाट तिहारका लागि आवश्यक झिलिमिली नेपाल आइसकेको छ। कात्तिकको सुरुआतसँगै तिहारका सामग्री आइसकेको नेपाल विद्युतीय व्यवासयी महासंघले जनाएको छ। ‘तिहारका लागि झण्डै ६५ करोडका सामग्री चीनबाट आयत गरिएका छन्,’ महासंघका अध्यक्ष तेजनारायण खरेलले भने।
अध्यक्ष खरेलका अनुसार, तिहारका लागि लिड बल्ब, लक्ष्मीको फोटो भएको झिलिमिली बत्ती, विद्युतीय दीयोलगायतका सामान आयात भएका छन्।
‘गत वर्ष ८० करोडका सामान आएको थियो, यस वर्ष ६५ करोडको मात्रै आयात भएको छ,’ अध्यक्ष खरेलले काठमाडौं प्रेससँग भने, ‘गत वर्षभन्दा यो वर्ष माग कम भएकाले आयात कम गरिएको हो।’
व्यवसायीहरुका अनुसार, गत वर्षको सामान केही बाँकी छ। जसले गर्दा यो वर्ष कम माग गरिएको हो। महासंघका अध्यक्ष खरेलले पनि गत वर्षको केही सामान स्टक रहेको बताए।
यस वर्षका लागि आवश्यक तिहारका सामग्री आइसकेका छन्। ‘लगभग सबै सामान आयात भइसकेकोछ, केही बाँकी एक–दिनमै आइपुग्छ,’ उनले भने।
पहिले भारतबाट पनि तिहारका सामाग्री आउने गरेको थियो। पछिल्लो समय भने सस्तो र झिलिझिमी भएकाले चीनबाटै धेरै आयात हुने गरेको छ। करिब ९५ प्रतिशत सामान चीनबाट आयात हुने गरेको महासंघले जनाएको छ।
झिलमिलीको मूल्य नबढ्ने
यस वर्षको तिहारका लागि प्रयोग गरिने झिलमिली बत्तीको मूल्य नबढ्ने महासंघले जनाएको छ। ‘झिलमिलीको मूल्य गत वर्षकै हाराहारीमा छ, माग पनि कम भएकाले विद्युतीय सामाग्रीबाट धेरै फाइदा लिन सक्ने अवस्था छैन,’ खरेलले भने।
तिहारका लागि आयात गरिएका सामानमा सबैभन्दा बढी लिड बल्ब नै छन्। त्यसपछि लक्ष्मीको फोटो भएको झिलिमिली बत्ती, विद्युतीय दीयोलगायतका सामान रहेका छन्।












-(7)-1765197040.jpg)