Kathmandu Press

ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको हाे : देउवा

देउवाले सङ्‍घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरे।
ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको हाे : देउवा

काठमाडाैं, वैशाख २४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन्। 

कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज (शनिबार) बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, केपी ओलीमा अत्यन्त धेरै अत्याचार बढ्यो। कसैको विरोध सहन नसक्ने प्रवृत्ति देखियो। कसैले विरोध गर्‍यो भने लहडका भरमा संसद भंग गरिहाल्ने। संविधानमा प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै छैन।’

ओलीले दुई पटकसम्म विघटन गरेको संसदलाई अदालतले पुनःस्थापना गरिदिए पनि फेरि त्यही एमालेले संसद चल्न नदिएको उनको भनाइ थियो।

उनले एमालेलाई जिताए भोलिका दिनमा हिजोको जस्तै हालत नेपाली जनताले भोग्नुपर्ने दाबी गरे। ‘ओलीको पार्टीलाई जिताए यहाँ भोलि त्यही हालत हुन्छ,’ उनले भने।

देउवाले सङ्‍घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई अमूल्य मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरे।

‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ,' उनले भने, 'गठबन्धनका सबै साथीहरूलाई कुनै शंकाउपशंका नगरी जिताउन अनुराेध गर्छु।’

नेपालमा प्रजातान्त्रिक अधिकारलाई बचाउन आफ्नो नेतृत्वमा सरकार बनेको उनले बताए। अहिले लोकतान्त्रिक सरकार रहेकाले कसैले डरत्रासमा बाँचनुपर्ने अवस्था  नभएको उनको भनाइ थियो। अहिले सरकार आएपछि बोल्ने तथा लेख्ने छुट सबैले पाएको बताए।

उनले  एमसिसी एउटा विदेशी अनुदान भएको स्पष्ट पार्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्नुपर्ने आवश्यकता औँल्याए। एमिससी परियोजनाबाट बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने उनकाे भनाइ थियाे।

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्