निर्वाचनमा कैलालीमा चार हजार कर्मचारी खटिँदै
कैलाली, वैशाख २४ : आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लाका १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्।आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका...
कैलाली, वैशाख २४ : आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लाका १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्।
आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ ।
५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।
खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए । निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन उनले जानकारी दिए ।
कैलालीमा १ उपमहानगरसहित ६ नगरपालिका र ६ गाउँपालिका छन् । जसमा धनगढी उपमहानगर, टीकापुर, लम्कीचुहा, घोडाघोडी, गौरीगंगा, भजनी र गोदावरी नगर तथा बर्दगोरिया, जानकी, जोशीपुर, कैलारी, मोहन्याल र चुरे गाउँपालिका छन्।
कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा २४० वटा चुनाव चिह्नको व्यवस्था छ । उक्त मतपत्रमा मान्यताप्राप्त राजनीतिक दल, राष्ट्रिय मन्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनाव चिह्न छन् ।
-1739010447.jpg)



-1739010447.jpg)






