Kathmandu Press

७७ वटै जिल्लामा पुग्यो मतपत्र

काठमाडाैं, वैशाख २४ : स्थानीय तह निर्वाचनको मतपत्र ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ। आयोगले वैशाख १३ गतेदेखि विभिन्न जिल्लामा...
७७ वटै जिल्लामा पुग्यो मतपत्र

काठमाडाैं, वैशाख २४ : स्थानीय तह निर्वाचनको मतपत्र ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ। आयोगले वैशाख १३ गतेदेखि विभिन्न जिल्लामा मत पत्र पठाउन सुरु गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो ।

आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । सबै जिल्ला र पालिकामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आयोगले मतदानस्थल पुग्न, मतदान गर्न र घर फर्कनेसम्मको वातावरणलाई सुरक्षित बनाउन प्रबन्ध गरेको छ । निर्वाचनको तीन दिनअघि नै कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित निर्वाचनस्थलमा पुग्नेछन् । त्यसका लागि आवश्यक तयारीका काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

 

प्रकाशित मिति: ०७:३१ बजे, शनिबार, वैशाख २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्