Kathmandu Press

एमबीबीएस र बीडीएसको सिट तोकियो, कुन कलेजलाई कति सिट?

काठमाडौं, कात्तिक ४ : नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

चिकित्सा....

एमबीबीएस र बीडीएसको सिट तोकियो, कुन कलेजलाई कति सिट?

काठमाडौं, कात्तिक ४ : नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

चिकित्सा शिक्षा आयोगको आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ।

काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एमबीबीएस १०० र  बीडीएस ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेललाई एमबीबीएस ८५ र  बीडीएस ५०, नोबेल मेडिकल कलेजलाई एमबीबीएस १०० र  बिडीएस ३५ सिट तोकिएको छ।

त्यस्तै, विराट मेडिकल कलेजलाई एमबीबीएस ७५, काठमाडौँ मेडिकल कलेजलाई एमबीबीएस १०० र  बिडीएस ५०, नेपाल मेडिकल कलेजलाई एमबीबीएस १०० र  बिडीएस ५०, कलेज अफ मेडिकल साइन्सेसलाई एमबीबीएस १०० र  बिडीएस ५० र लुम्बिनी मेडिकल कलेजलाई एमबीबीएस १०० सीट प्रदान गरिएको छ।

यस्तै, नेपालगञ्ज मेडिकल कलेजलाई एमबीबीएस १००, मनिपाल मेडिकल कलेजलाई एमबीबीएस १००, देवदह मेडिकल कलेजलाई  एमबीबीएस ५० र कान्तिपुर डेन्टल कलेजलाई बीडीएस ५० सिट निर्धारण गरिएको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क बढाएको छ। आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबीबीएस र बीडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो।

उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न ४० लाख २३ हजार दुई सय ५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बीडीएसका लागि उपत्यकाभित्र र बाहिर २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ।

यसअघि एमबीबीएस तहका लागि उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा  बीडीएसका लागि उपत्यकाभित्र १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो।

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, कात्तिक ४, २०७६