रामधुनीका मेयर उम्मेदवार अधिकारीका एजेन्डा : अस्पताल निर्माणदेखि रोजगारी सिर्जनासम्म
काठमाडौं, वैशाख २३ : आसन्न स्थानीय तह निर्वाचनमा सुनसरीस्थित रामधुनी नगरपालिकाको मेयर उम्मेदवार सुदीप अधिकारीले ‘समानुपातिक विकास, समानुपातिक सहभागीता र समुन्नत नगर ः सम्मानित...
काठमाडौं, वैशाख २३ : आसन्न स्थानीय तह निर्वाचनमा सुनसरीस्थित रामधुनी नगरपालिकाको मेयर उम्मेदवार सुदीप अधिकारीले ‘समानुपातिक विकास, समानुपातिक सहभागीता र समुन्नत नगर : सम्मानित नागरिक’ लाई मुख्य एजेन्डाका रुपमा प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेसबाट नगरपालिकाको मेयर उम्मेदवार बनेपछि चुनावी घरदैलोमा रहेका अधिकारीले रामधुनी राजनीतिक रुपमा नगरपालिका भएपनि आर्थिक विकासका आधारमा ग्रामिणसरह रहेको बताए । उनले आफ्नो मुख्य एजेन्डा नै रामधुनीलाई राजनीतिक र आर्थिक दुवै हिसाबमा नगर बनाउने रहेको बताए।
रामधुनी थारुहरुको बाहुल्यता रहेको क्षेत्र हो। सुदीपले तिनै थारुहरुको कला र संस्कृतिलाई आर्थिक उपार्जनसँग जोड्न पनि विशेष पहल गर्ने बताएका छन्। ‘ ‘रामधुनी थारु कला र संस्कृतिका हिसाबले धनी छ। त्यसलाई आर्थिक उपार्जनको माध्यम बनाउने योजना छ,’ उनले भने, ‘थारु समुदायको जीवनस्तर उकास्ने कामको नेतृत्व गर्न तयार छु।’

भाषा, कला र संस्कृतिको संरक्षणले मात्र विकास सम्भव रहेको उल्लेख गर्दै अधिकारीले पछिल्लो समय लोप हुँदै गएका ग्रामथान र कोहबरको संरक्षणमा आफ्नो पहलकदमी रहने उल्लेख गरे।
एक घर, एक रोजगार
मेयरका उम्मेदवार अधिकारीले ‘एक घर, एक रोजगार’को योजनालाई पनि अगाडि सारेका छन्। त्यसका लागि पहिलो वर्ष हरेक युवालाई सीपयुक्त बनाउने र बाँकी वर्ष रोजगारीमा लगाउने उनको लक्ष्य छ । ‘युवालाई आयआर्जन सँग जोड्ने र रामधुनीलाई बेरोजगार मुक्त नगर बनाउछु,’ उनले भने।
यस्तै, नगरपालिकामा सुविधा सम्पन्न रामधुनी अस्पताल निर्माण पनि आफ्नो एजेन्डामा रहेको अधिकारीले बताएका छन्। नगरपालिकाका बालाबालिकालाई उत्कृष्ट शिक्षा दिन सबैको रोजाईमा पर्ने नमूना विद्यालय निर्माण पनि आफ्नो योजना रहेको उनले बताए ।
स्मार्ट भिलेजको अवधारण
राजमार्गसँग जोडिएपनि अधिकांश गाउँले बस्ती रहेको रामधुनमा स्मार्ट भिलेजको अवधारणलाई मेयर उम्मेदवार अधिकारीले अगाडि सारेका छन्। सबै ग्रामीण बस्तीहरूमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत्लगायत पूर्वाधारको विकास गर्दै ‘स्मार्ट भिलेज’को अवधारणा कार्यान्वयन उनको योजना छ।

स्मार्ट भिलेजको अवधारणलाई मूर्तरुप दिन संघ र प्रदेशसँग सहकार्य गर्ने पनि उनले बताएका छन्। करको दायारा बढाउने र त्यसलाई विकासमा लगाउने योजना उनको छ। विभिन्न जात–जातिका धार्मिक तथा संस्कृतिको संग्रहालय निर्माणलाई पनि अधिकारीले आफ्नो योजनाका रुपमा अगाडि सारेका छन्।
यसैगरी उनले घरदैलो कार्यक्रममा क्रममा देखिएका जनताका समस्या टिपोट गरेको र आफू निर्वाचित भए ती समस्याहरु प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्ति गरे।
-1739010447.jpg)



-1739010447.jpg)






