‘महाधिवेशनले गठबन्धनको म्यान्डेट दिए पनि विरोध हुनु दुःखद’
आफूहरुले पनि एक्लै जाने रहर गर्दा विगतमा कांग्रेस हारेको र माओवादी केन्द्रले पनि एमालेसँग मिल्दा दुःख पाएको उनले बताए।
काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनले यो गठबन्धन आवश्यक रहेको भनेर सर्वसम्मतिले पारित गरेको बताएका छन्।
सत्ता गठबन्धनद्वारा आज (शुक्रबार) काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले महाधिवेशनमा गठबन्धन हुनुपर्ने विषयमा कसैले विरोध नगरेको र सो विषयलाई दुई तिहाइले पारित गरेको बताएका हुन्।
‘पार्टीमा महाधिवेशनभन्दा ठुलाे कुरा अरु केही पनि हुँदैन। गठबन्धन महाधिवेशनले दिएको म्यान्डेट हो। त्यसपछि ठुलो भनेको केन्द्रीय समिति हो। त्यसले पनि गठबन्धनको कसैले विरोध गरेको छैन। गठबन्धन जरुरी रहेको भनेर पास गरेको छ,’ देउवाले भने, ‘यति मात्र होइन पार्टी सभापति भनेर मलाई सम्पूर्ण अधिकार पनि दिइएको छ। अहिले आएर पार्टीभित्र दुखपूर्ण कुरा भएको छ।’
महाधिवेशन र केन्द्रीय समितिबाट गठबन्धनका लागि म्यान्डेट पाए पनि अहिले पार्टीभित्र विरोध हुनु दुखद विषय भएको उनले बताए।
केपी ओली सरकारको पालामा आतंक र डरत्रास रहेको अहिले त्यस्तो नभएको दाबी उनले गरेका छन्। आफूहरुले पनि एक्लै जाने रहर गर्दा विगतमा कांग्रेस हारेको र माओवादी केन्द्रले पनि एमालेसँग मिल्दा दुःख पाएको उनले बताए।
हिजोका घटनाबाट मुक्ति चाहने पार्टी एक ठाउँमा उभिएको र गठबन्धन बनेको उनको भनाइ थियो।
-1739010447.jpg)



-1739010447.jpg)






