मेयर उम्मेदवार सिंहले भनिन्– सबै वडामा ज्येष्ठ नागरिक भवन बनाउँछु, विधुर पुरुषहरूलाई पनि भत्ता दिन्छु
महानगरवासीले छिटोछरितो ढंगले चुस्तदुरुस्त सेवा पाउने अवस्था बनाउने मात्र नभई डिजिटलको जमानाअनुसार घरबाटैसेवा लिन सक्ने परिस्थिति बनाउने योजना पनि उनले सुनाइन्।
काठमाडाैं, वैशाख २३ : काठमाडौं महानगरपालिका लागि पाँचदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार सिर्जना सिंहले आफू विजयी भए ३२ वटै वडामा ज्येष्ठ नागरिक भवन बनाउने, ज्येष्ठ नागरिक हुनुअगावै विधुर बनेका पुरुषहरूलाई भत्ता दिने व्यवस्था गर्ने बताएकी छन्।
गठबन्धनद्वारा आज (शुक्रबार) काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू महानगर मेयरमा विजयी भए महानगरमा सुशासन कायम गर्ने दायित्व निर्वाह गर्ने वाचा गरिन्।
महानगरवासीले छिटोछरितो ढंगले चुस्तदुरुस्त सेवा पाउने अवस्था बनाउने मात्र नभई डिजिटलको जमानाअनुसार घरबाटैसेवा लिन सक्ने परिस्थिति बनाउने योजना पनि उनले सुनाइन्।
नेपाली कांग्रेस जनताका लागि मात्र लडेर आएको पार्टी भएको र यो पार्टीले ठुलाठुला आन्दोलन गरेको, नेपालीहरूलाई स्वतन्त्रता दिलाउन लडेको पार्टीले आफूलाई महानगरको नेतृत्वका लागि अघि सारेकोमा धन्यवाद दिइन्।
उनले अग्रज बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइरालालाई स्मरण गर्दै नेपाली कांग्रेसको संकल्प र आफूले गरेको प्रतिबद्धताअनुरूप अघि बढ्ने वचन दिइन्।
काठमाडौंमा फोहोर, धुलो, ट्राफिक जाम, नदीको प्रदूषणलगायत समस्या समाधानतर्फ आफूले ध्यान केन्द्रित गर्ने उनले बताइन्।
त्यसका लागि फोहोर व्यवस्थापन घरबाटै गर्ने, सडकका खाल्डाखुल्डी हटाएर महानगरभित्रका सानाठुला सडकको व्यवस्थापनलाई आफूले प्राथमिकता दिने उनको भनाइ थियो। बालबालिकाको स्कुल जाने समय मिलाएर, अन्य तरिका अपनाएर ट्राफिक व्यवस्थापनका लागि पनि पहल गरिहाल्ने वचनबद्धता पनि उनले व्यक्त गरिन्।
यात्रु चढाउने, ओराल्ने र हिँडिहाल्ने व्यवस्था गरेर सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने योजना आफूले बनाएको उनले सुनाइन्।
‘संघीय राजधानी भनिए पनि राति सडकमा अन्धकार हुने, असुरक्षित हुने भएकाले सडक बत्तीको व्यवस्था गर्ने, सुरक्षाको वातावरण निर्माणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ठाउँठाउँमा सिसीटिभी राखेर, टोलटोलमा क्विक रेस्पोन्स टिम राख्ने कार्यका लागि तुरुन्त पहल गर्नेछु,’ उनले भनिन्।
बालबालिका, युवा, महिला, ज्येष्ठ नागरिकका तमाम समस्या समाधानमा पनि आफू लागिपर्ने उनले बताइन्।
‘महिलामा लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, विपन्न परिवारका महिलालाई भत्ताको प्याकेज ल्याउने योजना बनाएको जानकारी दिन चाहन्छु,’ उनले भनिन्।
३२ वटै वडामा कोसेली घर बनाएर महानगरका महिला दिदीबहिनीहरूले उत्पादन गरेका सामग्री बिक्रीवितरको वातावरण बनाउने, नमुना उत्पादनहरुलाई विदेशी बजारमा पुर्याउने व्यवस्था मिलाउने योजना आफूले बनाएको उनले सुनाइन् ।
ज्येष्ठ नागरिक भइनसकेको विधुर पुरुषका लागि भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
देशमा ठुलाठुला लडाइँ लडेर परिवर्तनका लागि महत्वपूर्ण योगदान दिने युवाहरुका लागि पनि उनले आफ्ना थुप्रै योजना रहेको उनले बताइन्। आफू पनि युवा हुँदा आन्दोलनमा होमिँदा प्रहरीको कुटाइ खाएको, गिरफ्तारीमा परेको स्मरण गर्दै उनले युवाहरूले बिदेसिनुपरेको, बेरोजगारीमा रुमलिनुपरेको समस्याको आफूले बोध गर्न सक्ने बताइन्।
मेयर भएपछि युवाहरूलाई महानगरको मौलिकता जोगाउन, वास्तुकला, मूर्तिकला, काष्ठकला, चित्रकलाको संरक्षण गर्न युवाहरूलाई परिचालन गरेर, तालिम दिएर स्वरोजगार बन्ने व्यवस्था गर्ने, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याउने प्रतिबद्धता उनले व्यक्त गरिन्।
भौतिक सुविधासम्पन्न सहर भएकाले रंगशाला, क्रिकेट मैदान लगायत पूर्वाधार रहेकाले सबै क्लाबहरूसँग समन्वय गरेर, सबैलाई महानगरले सहयोग गरेर युवाहरुलाई खेलकुद क्षेत्रमा पनि अग्रसर बनाउने र युवाहरुलाई अन्तर्राष्ट्रिय जगत्मा पनि चिनाउनेगरी आफू लागिपर्ने उनको भनाइ थियो।
प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउने योजना पनि आफ्नो रहेको उनले बताइन्।
शिक्षाको विकास र स्वास्थ्य क्षेत्रको सुधारमा पनि सार्थक कदम चाल्ने वाचा उनले गरिन्। महानगर मौलिक सम्पदाले सम्पन्न रहेको उल्लेख गर्दै उनले जात्रा, पर्व, गुठी, मठ, मन्दिर, विहार आदिको संरक्षमा आफ्नो ध्यान सदैव केन्द्रित रहने पनि उनले स्पष्ट पारिन्। विश्वा सम्पदा सूचीमा पर्नेदेखि लिएर अन्य सबै सम्पदाको संरक्षण गरी एैतिहासिक धरोहरहरू जोगाउने दिशामा आफू अग्रसर हुने उनले बताइन्।
सम्पदा र संस्कृतिले भरिपूर्ण भएर पनि पर्यटकीय स्थलका रूपमा महानगरलाई अझ सुदृढ बनाउन आफूले कदम चाल्ने योजना आफूले अघि सारेको पनि उनले जानकारी दिइन्। काठमाडौं सहरलाई विश्वकै एउटा आकर्षक पर्यकीय गन्तव्यका रूपमा विकसित गर्न आफूले पहल गर्ने उनको भनाइ थियो।
करको दायारा फराकिलो बनाउने व्यापारिक हबको रुपमा विकास गर्ने, २४सै घन्टा खुल्ने बजारको व्यवस्थाका लागि विज्ञहरुसँग सल्लाह गर्ने पनि उनको भनाइ थियो।
नदीनाला सफाइ, ढल व्यवस्थापनलाई चुस्त बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्। सार्वजनिक ठाउँहरुमा निःशुल्क खानेपानी मात्र निःशुल्क महिलामैत्री शौचालय बनाउने वाचा पनि उनको थियो।
महानगर मेयर जितिसकेपछि सबैको दिदी, बहिनी, आमा, छोरी भएर काम गर्ने, महानगरलाई महान् बनाउनेतिर लाग्ने, महानगरवासीले सोचेकोजस्ता जस्तो महानगर बनजाउनतिर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
-1739010447.jpg)



-1739010447.jpg)






