Kathmandu Press

कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन : महामन्त्री शर्मा 

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा...
कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन : महामन्त्री शर्मा 

काठमाडौं, वैशाख २३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र) को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका हुन् ।

तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे । “जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्”, महामन्त्री शर्माले भने ।

अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न उनले मतदातासामु आग्रह पनि गरे । तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उनले प्रशंसा पनि गरे ।

तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गरिन् । 


 

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्