एनभिए लिग : पुरुषतर्फ हेल्प नेपालकाे चौथो जित

काठमाडाैं, वैशाख २२ : हेल्प नेपालले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा पुरुषतर्फ चौथो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्पले चौंथो जित निकालेको हो। हेल्पले पुलिसमाथि २५–२३,२५–२३ र २५–२३ को सेटमा जित निकालेको हो। पुलिसको यो पहिलो हार हो। यस्तै पुरुषतर्फ बुधबार नै भएको खेलमा गल्कोट स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा हरायो। त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराउँदै पुलिसले तेश्रो जित निकालेको हो। पुलिसले न्यु डायमण्डमाथि २५–११,२५–१७ र २५–१५ को सेटमा जित निकाल्यो। जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ। पुलिस शीर्ष स्थानमा रहेको छ।
न्यु डायमण्डको यो लगातार तेस्रो हार हो। महिलाकै पहिलो खेलमा एपीएफले एभरेस्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्यो। एपीएफले एभरेस्टमाथि २५–१३,२५–१०,१९–२५ र २५–१९ को सेटमा जित निकालेको हो। लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ। महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ। विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्नेछन्।











