Kathmandu Press

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे छ, भरतपुर मेयरमा विवाद नगर्नुहाेस् : देउवा

सबैले एकताबद्ध भएर गठबन्धन टुटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने धारणा उनले व्यक्त गरे। त्यस्ताे कदमकाे सुरूवात भरतपुरबाट गर्नुपर्ने उनकाे भनाइ थियाे।
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे छ, भरतपुर मेयरमा विवाद नगर्नुहाेस् : देउवा

चितवन, वैशाख २१ : प्नधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जताततैबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाे बताउँदै भरतपुर महानगर मेयरमा विवाद नगर्न नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आज (बिहीबार) आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले भने,  गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भइरहेका छन् । षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ।’

सबैले एकताबद्ध भएर गठबन्धन टुटाउने षड्यन्त्रलाई परास्त गर्नुपर्ने धारणा उनले व्यक्त गरे। त्यस्ताे कदमकाे सुरूवात भरतपुरबाट गर्नुपर्ने उनकाे भनाइ थियाे।

अहिले भरतपुरमा माओवादी केन्द्रका उम्मेदवारलाई जिताए भोलि कांग्रेस नेताकार्यकर्ताले पनि अवसर पाउने उनको भनाइ थियो। अहिले रेनु दाहाललाई सघाउनु चितवन कांग्रेसकाे कर्तव्य भएकाे उनले बताए।

‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला। उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो। त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो,’ उनले भने। 

देउवाले रेणु दाहाल पाँच वर्ष मेयर हुँदा भरतपुरमा विकासनिर्माणका धेरै  काम भएको उनले बताए।

‘ठाउँठाउँमा पिच, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो,’ देउवाले भने, ‘स्मार्ट सिटीको कुरा उठाउनुभएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, इन्टरनेसनल कन्फरेन्स हल बनाउने भन्नुभएको छ, यो सानो कुरा हो? यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो।’ 

रेणु दाहालले देखेको सपना भरतपुरवासीकै लागि भएको देउवाले बताए। ‘रेनु दाहालले देखेका सपना तपाईंहरूका लागि हो,’ देउवाले भने, ‘रेनुले आफ्नै कामले जितिसक्नुभएको छ। फेरि जित्नुहुन्छ। राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान्? उहाँलाई सहयोग गर्नुहोस्।’ 

देउवाले कुनै पार्टीले पनि बहुमत ल्याउन स्थिति नरहेकाले गठबन्धनलाई जोगाइरहनु आवश्यक रहेको बताए।

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्