राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडाैं, वैशाख २२ : उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन्।राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित...
काठमाडाैं, वैशाख २२ : उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सूचना आयोगको १५औँ स्थापना दिवसका बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले राज्यले सार्वजनिक महत्वबारे जनतालाई सूचना दिनुपर्ने तथा लोकतन्त्र र जनताप्रति जिम्मेवार र पारदर्शी हुनुपर्ने बताएका हुन्।
उनले सूचनाको हकको प्रभावकारी कार्यान्वयन भए मात्रै राज्य र जनताको हित हुने धारणा राखे। त्यस्तै उनले नागरिकले राज्य तथा सार्वजनिक निकायको काम कारवाहीबारे सहज सूचना पाउन सके सुशासन र असल शासन कायम हुने उल्लेख गरे।
उपराष्ट्रपति पुनले अझै पनि राज्यका विभिन्न निकायमा सार्वजनिक महत्वका सूचनामा नागरिकको पहुँचलाई सरल र सहज तुल्याउन नसकिएको भन्दै आयोगको ध्यानाकर्षण गराए।
कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगमा दर्ता भएका सबै निवदेनमाथि सुनुवाइ गरेको जानकारी दिए। नागरिकको सूचनाको हकलाई स्थापित गराउन आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ।
आयोगले सूचना अभियान्ता उमीदप्रसाद वागचन्द, दुर्गा आचार्य, कैलाश माझि, मनोज रौनियारलाई ‘विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कार–२०७९’ प्रदान गरेको थियो भने बिभिन्न निकायमा कार्यरत कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो।
-1739010447.jpg)




-1739010447.jpg)





