Kathmandu Press

महिला उम्मेदवारका योजना : महिनावारी बिदादेखि सार्वजनिक शौचालय र चोक–चोकमा निःशुल्क खानेपानीसम्म 

नेपाली कांग्रेसबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले काठमाडौं महानगरलाई सफा र सुन्दर बनाउने, आमाको नामबाट नागरिकता दिन पहल गर्ने, युवायुवती पलायन हुन नदिने, महिला दिदीबहिनीका लागि व्यापारिक केन्द्र स्थापना लगायत काम गर्ने प्रतिबद्धता जनाइन् ।
महिला उम्मेदवारका योजना : महिनावारी बिदादेखि सार्वजनिक शौचालय र चोक–चोकमा निःशुल्क खानेपानीसम्म 

काठमाडौं, वैशाख २२ : काठमाडौं र ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका महिला नेतृले आफूले निर्वाचन जिते महिनावारी बिदादेखि सार्वजनिक शौचालय, चोक–चोकमा निःशुल्क खानेपानी वितरण, शिशु स्याहार केन्द्र बनाउने लगायत प्रतिबद्धता व्यक्त गरेका छन् । 

शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प र महिला गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा ‘महिला जिताऊँ अभियानका लागि उम्मेदवारसँग महिलासम्बन्धी अन्तर्संवाद कार्यक्रम’ भयो, जसमा काठमाडौं महानगर, ललितपुर महानगर र टोखा नगरपालिकामा उम्मेदवारी दिएका महिलाले आ–आफ्ना प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा छलफलका लागि काठमाडौं, भक्तपुर र ललितपुरका महिला उम्मेदवारलाई बोलाइए पनि सबै उपस्थित हुन नसकेको जनाइएको थियो । 

महिलाका समस्यालाई प्राथमिकता दिएर काम गर्छु : सिर्जना सिंह

नेपाली कांग्रेसबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू निर्वाचित भए सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्थापन गर्ने बताएकी छन् । कार्यक्रममा उनले भनिन्, ‘कामकाजी महिलाको सहजताका लागि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याउँछौँ ।’ 

उनले काठमाडौं महानगरलाई सफा र सुन्दर बनाउने, आमाको नामबाट नागरिकता दिन पहल गर्ने, युवायुवती पलायन हुन नदिने, महिला दिदीबहिनीका लागि व्यापारिक केन्द्र स्थापना लगायत काम गर्ने प्रतिबद्धता जनाइन् । ‘मैले महिला दिदीबहिनीको समस्यालाई नजिकबाट बुझेकी छु, समस्या न्यूनीकरण गर्न सक्छु,’ उम्मेदवार सिंह भन्छिन्, ‘मैले केही समय फ्रन्टलाइनमा बसेर काम गरिनँ तर राजनीति छोडेकी थिइनँ । महिलाको समस्या बुझेकी छु ।’ 

सिंह २०३३ सालदेखि राजनीतिमा लागेकी हुन् । ०४२ सालदेखि घर–व्यवहारका कारण केही समय विश्राम लिइन् । राजनीतिमा पुनः सक्रिय रहन प्रमुखमा उम्मेदवारी दिएको उनको भनाइ छ । ‘ब्याक साइडमा बसेर लामो समय काम गरँे । अब महानगरको प्रमुख भएर सेवा गर्न चाहन्छु,’ उनले भनिन्, ‘महिलाका समस्यालाई बढी प्राथमिकतामा राखेर काम गर्छु ।’ 

उनले आफू विजयी हुँदा गर्ने कामका सम्बन्धमा सात संकल्प समेत सार्वजनिक गरेकी छन् ।  

महिनावारी बिदा मिलाउने : सुनीता डंगोल 

काठमाडौं महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी सुनीता डंगोलले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । एमालेबाट उम्मेदवार रहेकी उनले भनिन्, ‘महिनावारीको समयमा धेरै महिलालाई कार्यालय जान गाह्रो हुन्छ, जसलाई कतिपय पुरुषले बुझ्दैनन् । मैले जितेँ भने महिलालाई महिनावारी बिदा दिन पहल गर्नेछु ।’

नेतृत्वमा महिला सहभागिता बढाउन पहल गर्ने, महिलाका लागि रोजगारी सिर्जना गर्ने र उत्पादनका क्षेत्रमा पनि जोड दिने उनले बताइन् । 

५० स्थानमा सार्वजनिक शौचालय : समीक्षा बाँस्कोटा

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी समीक्षा बाँस्कोटाले आफू निर्वाचित भए एक वर्षभित्र महानगरभित्र ५० स्थानमा सार्वजनिक शौचालय बनाउने बताइन् । ३८ वर्षीया बाँस्कोटाले भनिन्, ‘सार्वजनिक यातायातमा हुने हिंसाको न्यूनीकरण, ढुंगेधारा लगायत सम्पदाको संरक्षण, डिजिटल प्रविधिमार्फत महानगरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहेकी समीक्षाले नेपालबाट कानुनमा स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी छन् । गएको स्थानीय निर्वाचनमा काठमाडौं क्षेत्र १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार रहेकी उनले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् । 

महिला तथा बालबालिकामा केन्द्रित हुन्छु : कीर्ति तुलाधर

विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरको उपप्रमुखमा उम्मेदवारी दिएकी ६२ वर्षीया कीर्ति तुलाधरले महिला, बालबालिका, अपांग, ज्येष्ठ नागरिक र तेस्रो लिंगी हकहित र उत्थानमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

‘असहाय बालबालिका तथा नागरिकलाई निःशुल्क आवाससहित पूर्ण रेखदेखको व्यवस्था मिलाउनेछु । अध्ययनरत तथा कामकाजी महिलाका लागि शिशु स्याहार तथा रेखदेख केन्द्र व्यवस्था गर्छौं,’ उनले भनिन्, ‘अन्य कामसँगै महिलाका समस्या र आवश्यकतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउँछौँ ।’

महिलालाई रोजगारीको अवसर : विनिता मगैयाँ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरको उपप्रमुखमा उम्मेदवारी दिएकी विनिता मगैयाँले महिलाका लागि रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

‘महिलालाई काम र सीपसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्छु,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार र विकासका काममा समेत दक्ष महिलालाई प्राथमिकता दिने कार्यक्रम ल्याउँछु ।’ 

राजनीतिमा महिलाको सहभागिता बढाउन पहल समेत गर्ने उनले बताइन् । 

नगरको समृद्धिसँगै हिंसा न्यूनीकरण गर्छु : रजनी थापा 

कांग्रेसबाट टोखा नगरपालिकामा प्रमुखको उम्मेदवारी दिएकी रजनी थापाले आफू विजयी भए महिला सशक्तीकरण र महिला हिंसाविरुद्ध न्यूनीकरणमा काम गर्ने योजना रहेको बताइन् । 

‘महिलाले महिलाको खुट्टा तान्ने प्रवृत्ति त्यागेर हात तानेर माथि उठाउनुपर्छ,’ उनले भनिन्, ‘कतिपय महिलालाई आफूमाथि हुने हिंसाका सम्बन्धमा थाहा छैन । उनीहरूलाई कानुन बुझाउन पहल गर्छु । घरेलुहिंसा विरुद्ध आवाज उठाउन सक्ने बनाउन कार्यक्रम ल्याउँछु । टोखाको समृद्धि र विकासका लागि विस्तृत योजना त छँदै छ ।’

राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिएर सोही शैलीका काम गर्ने उनको तयारी छ । ‘स्वास्थ्यमा निम्न वर्गका मानिसको पहुँच पु¥याउने र महिलाको निःशुल्क स्वास्थ्यमा ध्यान दिनेछु,’ उनले भनिन् । 

पिँधका महिलाका समस्या समाधान गर्छु : स्वर्णिमा शाक्य 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी स्वर्णिमा शाक्यले पिँधमा परेका महिलाका समस्या बुझी समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘घरभित्रदेखि बाहिरसम्म अथाह समस्याबाट महिला गुज्रिरहेका छन् । महिलाका स–साना समस्यालाई अध्ययन गरी काम गर्छु,’ उनले भनिन्, ‘महिलालाई पिँधबाट उठाउनुछ । त्यसैले दैनिक झेल्नुपर्ने समस्यालाई न्यूनीकरण गर्दै अगाडि बढ्छौँ ।’

कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष डा. शशि अधिकारीले महिला उम्मेदवारलाई जिताएर महिला जनप्रतिनिधिको संख्यामा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइन् । संकल्पकी वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारलाई बोलाइएको थियो । 
  
 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, वैशाख २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्