Kathmandu Press

२०० पत्रकार उम्मेदवार : स्थानीय तहको प्रमुख पददेखि वडा सदस्यसम्म 

पत्रकारले राजनीति गर्नु नौलो होइन। पछिल्लो समय पत्रकार रवीन्द्र मिश्र पार्टी नै खोलेर राजनीतिमा लागेका छन्।  
२०० पत्रकार उम्मेदवार : स्थानीय तहको प्रमुख पददेखि वडा सदस्यसम्म 

काठमाडौं, वैशाख २१ : आसन्न स्थानीय तह निर्वाचनका लागि करिब दुई सय पत्रकारले उम्मेदवारी दिएका छन्। नेपाल पत्रकार महासंघमा आबद्ध भई सक्रिय पत्रकारिता गरिरहेका पत्रकारले प्रमुखदेखि सदस्यसम्मका लागि मनोनयन दर्ता गराएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। 

‘अहिलेसम्म प्राप्त सूचना अनुसार, स्थानीय तहमा उम्मेदवारी दिन महासंघका दुई केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। अन्य करिब २५ पत्रकारले पनि राजीनामा दिएका छन्,’ उनले भने, ‘केहीले राजीनामा दिएका छैनन्, केहीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिए पनि उनीहरूको पद गुमिसकेको छ।’

साधारण सदस्यको हकमा पत्रकार महासंघले आफ्नो विधान प्रक्रियाअनुसार उनीहरूमाथि कारबाही गर्ने पुरीले जानकारी दिए।

पत्रकारले राजनीति गर्नु नौलो होइन। पछिल्लो समय पत्रकार रवीन्द्र मिश्र पार्टी नै खोलेर राजनीतिमा लागेका छन्।  

यसपालि स्थानीय तहमा उम्मेदवारी दिएका केही पत्रकारलाई हामीले सोध्यौँ– पत्रकारिताबाट राजनीतिमा कसरी आउनुभयो र तपाईंको उम्मेदवारी किन ? 

प्रस्तुत छ, उनीहरूको भनाइ जस्ताको तस्तै :

‘प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्छौं’

–शान्ता आङबुहाङ 
(एमालेबाट ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाका लागि उपाध्यक्षको उम्मेदवार।)

हामी अहिले प्रचारप्रसारमा लागिरहेका छौँ। माओवादी केन्द्र, एमालेबाटै फुटेको एकीकृत समाजवादी र नेपाली कांग्रेसको गठबन्धनले थप चुनौती दिएको छ। 

२०५९ देखि अहिलेसम्म पत्रकारितामा लागेको भए पनि सुरुमा राजनीतिमा लागेकी थिएँ। कक्षा ६ मा पढ्दा (२०४९ साल) देखि राजनीतिमा प्रवेश गरेकी थिएँ। पछि बिस्तारै कलाकारिता क्षेत्रमा र पत्रकारितामा प्रवेश गरेकी हुँ। राजनीतितर्फ सुरुदेखि म एमालेमै लागेकी हुँ। पछि विद्यार्थी जिल्ला अध्यक्ष, अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष पनि भएँ। 

पत्रकारिताबाट पनि परिचय स्थापित गराउन धेरै मद्दत पुग्यो। विगतमा पत्रकारिता गर्दा जनतासँग धेरै नजिक भएर काम गरेको हुँदा अहिले प्रचारप्रसारमा केही हदसम्म सहज भएको छ। 

यसअघिकै स्थानीय चुनावमा उम्मेदवारी दिने सोच बनाएको भए पनि कारणवश मनोनयन दर्ता गर्न पाइएन। तसर्थ उम्मेदवारी दिएको यो नै पहिलोपटक हो। पहिलादेखि राजनीतिमा सक्रिय भएको हुँदा पार्टीकै तर्फबाट मलाई उम्मेदवारी दिनका लागि भनियो र मनोनयन दर्ता गराएकी हुँ। यसबाहेक यहाँका जनतासँग राम्ररी परिचित भएकाले पार्टीले मलाई निर्विरोध छनोट गरेको जस्तो लाग्छ। 

हाम्रो पार्टीको मूल एजेन्डा भनेको प्राकृतिक स्रोतसाधनको पहिचान गरी यसको सदुपयोग गर्नु हो। क्षेत्रको विकास, जाति, भाषी, गुम्बाको संरक्षण लगायत विषयलाई हामीले प्राथमिकतामा राखेका छौँ। यसबाहेक महिला तथा बालबालिका लगायतका सबै क्षेत्र समेटेर समग्र विकास गर्नु हाम्रो मूल एजेन्डा हो। 

मैले राम्रै मतले जित्छु जस्तो लाग्छ। विजयी भइनँ भने पनि राजनीतिमै सक्रिय रहने योजना छ।

‘समृद्ध गाउँपालिका बनाउँछु’

–दीपेन्द्र रुम्दाली राई 
(जसपाबाट ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्षको उम्मेदवार।)

मैले लगभग २० वर्ष पत्रकारिता गरेको छु। त्यो बीचमा पत्रकारिताका साथसाथै विभिन्न सामाजिक संघ–संस्थाका माध्यमबाट यहाँका जनतासँग उठबस गर्ने मौका पाएँ। 

यही बीचमा देशको व्यवस्था बदलियो, नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ। जनताको आवश्यकता पहिचान गर्नु, जनताको सुखदुःखमा साथ दिनु, जनताका समस्याको समाधान गर्नु नै स्थानीय सरकारको गरिमा हो। 
विगतमा पार्टीको कार्यमा सक्रिय रूपमा नहिँडेको भए पनि जनता समाजवादी पार्टीसँगको मेरो आस्था तत्कालीन संघीय समाजवादी पार्टी हुँदादेखिकै हो। यसरी ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको यो पहिलोपटक हो। 
पार्टी र यहाँका जनताले आवश्यकता ठाने र चुनाव लड्नुपर्छ भन्ने एक खालको माहोल बन्यो, त्यसैले पत्रकारिता छाडेर राजनीतिमा लागेको छु। मेरो मुख्य उद्देश्य समृद्ध गाउँपालिका बनाउनु हो। 

मैले अहिलेसम्म जानेको र गरेको कर्म भनेको पत्रकारिता नै हो। प्रत्यक्ष रूपमा नभए पनि कुनै न कुनै माध्यमबाट मैले कलम चलाइरहनेछु। राजनीतिमा लागेपछि स्वाभाविक रूपमा जनताको सुखदुःखमा सँगै रहने, पार्टीगत प्रतिनिधित्व गर्ने, नेतृत्वमा जाने कुरा रहन्छ नै। कथंकदाचित् नजितेको खण्डमा पूर्णरूपमा पत्रकारितामा फर्केर, कलम, डायरी, क्यामेरा बोकेर रिपोर्टिङमा जाने स्थिति भने नआउला। 

‘अब हामी बनाउँछौँ गौरादहलाई’ 

–गोपाल पौड्याल
(राप्रपाबाट झापा गौरादह नगरपालिकाको प्रमुख पदका उम्मेदवार।)

मैले गौरादह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको छु। पहिलेदेखि राजनीतिमा सक्रिय भए पनि पेसागत रूपमा म पत्रकार हुँ। मिडिया नेपालको केन्द्रीय अध्यक्ष पनि छु। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य छु। सार्वजनिक रूपमा मेयरमा उम्मेदवारी दिएको यो पहिलोपटक हो। 

घरदैलोमा जाँदा जनताले उत्साहपूर्वक हामीलाई सम्मान दिनुभएको छ। नगरमा हामीले आफ्नो मिसन र भिजन पेस गरेका छौँ। हाम्रो मूल उद्देश्य भनेकै भ्रष्टाचारमुक्त समाज निर्माण गर्नु र भ्रष्टाचारमुक्त सहर निर्माण गर्नु हो। ‘अब हामी बनाउँछौँ गौरादहलाई’ भन्ने हाम्रो मूल नारा हो। हामी भ्रष्टाचार गर्दैनौँ र गर्न पनि दिँदैनौँ भन्ने अर्को मूल एजेन्डा छ। यी कुरा जनतामाझ राख्दा ‘युवाले गर्न सक्छन्’ भन्ने सकारात्मक प्रतिक्रिया आएको छ। 

सुरुमा राष्ट्रिय विद्यार्थी मञ्चबाट राजनीतिमा प्रवेश गरेको हुँ। गौरादह क्याम्पस पढ्दादेखि राजनीतिमा सक्रिय थिएँ। त्यसपछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनमा पनि दोस्रो केन्द्रीय अध्यक्ष भएँ। केही वर्षपछि पार्टीको केन्द्रीय सदस्य हुँदै मंसिरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुँ। यसबाहेक अन्य सामाजिक क्षेत्रमा सक्रिय छु। समग्रमा भन्नुपर्दा स्थानीय चुनावका माध्यमबाट जनतामाझ जान पाउँदा अत्यन्त उत्साहित छु। साथै, यहाँका जनताको पनि साथ र सहयोग पाइरहेकै छु। 
पत्रकारिता र राजनीति दुई भिन्नाभिन्नै पाटा हुन्। राजनीतिमा भएका विसंगति, विकृतिलाई पत्रकारिता क्षेत्रले ‘वाच–डग’का रूपमा काम गर्छ। नेपालको राजनीति केही गलत दिशामा गइरहेको छ। त्यसलाई सही ट्र्याकमा ल्याउनुपर्छ भनेर पत्रकारिताका साथै म राजनीतिमा सक्रिय भएकी हुँ।

म गौरादहमा जन्मे–हुर्केको र पढेको मान्छे। यही क्षेत्रबाट केपी शर्मा ओलीले जितेर प्रधानमन्त्री बन्नुभयो, अन्य पार्टीले पटक–पटक जिते, यहाँ केही विकास हुन सकेन। हरेक ठाउँमा भ्रष्टाचार मात्र भयो। त्यसकारण हामीले बाहिर बसेर काम गर्नुभन्दा यहीँबाट चुनाव जितेर यहाँको समाजलाई परिवर्तन गर्नुपर्छ, यहाँका जनताका आशा पूरा गर्नुपर्छ भन्ने सोचले प्रतिस्पर्धामा उत्रेको हुँ। 

प्रतिस्पर्धीलाई म सम्मान गर्छु। तर, उहाँहरूमा यो नगरलाई विकास गर्ने कुनै दृष्टिकोण देखिएको छैन। नगरलाई कसरी परिवर्तन तथा विकास गर्ने भन्ने कुरामा उहाँहरूको स्पष्ट भिजन छैन। उहाँहरू पुरानै शैलीमा चलिरहनुभएको छ, जुन पर्याप्त छैन। त्यो परिपाटीलाई परिवर्तन गर्नुपर्छ भनेरै मैले आफ्नो उम्मेदवारी दिएको हो। र, यसमा विजयी हुन्छु भन्ने आत्मविश्वासले म अगाडि बढिरहेको छु। 
हारजित जेसुकै भए पनि पत्रकारितालाई निरन्तरता दिनेछु। मैले करिब २० वर्ष पत्रकारितामै बिताएँ, मिडिया हाउस पनि सञ्चालन गरेको छु। तत्कालका लागि पत्रकारिता छाड्ने कुनै योजना छैन।

‘उम्मेदवारी फिर्ता लिनेको तथ्यांक आइसकेको छैन’

महासंघका महासचिव रोशन पुरीका अनुसार, यसपटकको स्थानीय तहको चुनावमा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय पत्रकारले उम्मेदवारी फिर्ता लिइसकेको अवस्था छ। सुरुमा करिब दुई सय पत्रकारले उम्मेदवारी दिएकामा कतिले फिर्ता लिए भन्ने विषयमा महासंघलाई अहिलेसम्म स्पष्ट तथ्यांक प्राप्त नभएको उनी बताउँछन्।

स्थानीय चुनावकै लागि प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष मोहन चापागाईंले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएका छन्। नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धीरेन चेम्जोङले नेकपा एमालेबाट इलाम नगरपालिका प्रमुखमा उठेका छन्। 

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेका अनुसार, नेकपा एमालेबाट बाजुराका संस्थापक सदस्य अमर खड्काले बढीमालिका नगरपालिका प्रमुखमा र बाजुराकै वर्तमान अध्यक्ष नन्दा थापाले उपप्रमुखमा टिकट पाएका छन्। प्रेस चौतारी काभ्रेका पूर्वअध्यक्ष कञ्चन अधिकारीले एमालेबाट पाँचखाल नगरपालिकाको प्रमुखमा उठेका छन्। 

मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले राष्ट्रिय जनमोर्चामा गठबन्धनको तर्फबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका छन्। अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत अयान विकले स्वतन्त्र रूपमा अर्घाखाँचीको शीतगंगा– १० को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। 

पत्रकार गीता चौधरीले एमालेबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा, चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले एमालेबाटै जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी दिएका छन्। रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलकी सुनिता रावलले कांग्रेसका तर्फबाट डोटीको शिखर नगरपालिकाको उपप्रमुखमा र मोरङका पत्रकार भक्त राईले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका छन्। 

पत्रकारिता गर्दै आएका सकिल खानले एमालेबाट बाँकेको डुडुवा गाउँपालिकाको उपाध्यक्ष, गायत्री आचार्यले एमालेबाट मेलुङ गाउँपालिकाको उपाध्यक्ष, हेमशंकर सिंहले जनता प्रगतिशील पार्टीको तर्फबाट तिलाठी कोइलाडी गाउँपालिका सप्तरीको उपाध्यक्ष, कमलेश मण्डलले नेकपा (माओवादी केन्द्र) को तर्फबाट महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख, सतीश दत्तले नेकपा (एकीकृत समाजवादी) को तर्फबाट राजविराज– ८ को वडाध्यक्षमा उम्मेदारी दिएका छन्। 

यस्तै, पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) को तर्फबाट राजविराज–८ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। दुई सय जति पत्रकारले उम्मेदवारी दिएको आकलन गरिए पनि सबैको तथ्यांक महासंघमा आइनसकेको महासचिव पुरीले जनाए। 

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्