फोर्स गाडी र टाटा सुमो ठोकिँदा पाँचको मृत्यु, १८ घाइते
प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।
काभ्रेपलाञ्चोक, वैशाख २१ : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज (बुधबार) दिउँसो दुईवटा गाडी आपसमा ठोकिँदा पाँचजनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी५८टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ४२१० नम्बरको टाटा सुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ स्थित बढुबेंसीमा ठोकिँदा टाटा सुमोमा सवार पाँचजनाको मृत्यु भएको हो ।
सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोसी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को संगीत भुसाल रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी १८ जना भएको र उनहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।










-1739010447.jpg)
