गोरखाको पालुङटारमा भाँडियाे कांग्रेस-जसपा तालमेल

काठमाडौं, वैशाख २१ : आवश्यक सहमति जुटाउन नसक्दा गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेल भाँडिएको छ।
यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सघाउने सहमति भएको थियो ।
कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर वडासम्मै संयुक्त प्यानल बनाएर चुनाव लड्ने विषयमा सहमति नजुटेपछि तालमेल नहुने परिस्थिति बनेको जानकारी दिए।
विज्ञप्तिमा ‘केन्द्रबाट प्राप्त निर्देशनबमोजिम दुवै दलको बैठक बसी वडा तहसम्मको तालमेल गरी संयुक्त प्यानल बनाएर निर्वाचनमा जाने प्रयास गर्दा दुवै दलका नेताकार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको’ बताइएको छ।
‘दुवै दलबीच एकल एकल रुपमा स्वस्थ र मित्रवत पतिष्पर्धा गर्ने जिल्ला स्तरमा सहमति भए अनुरुप पालुङटार नगरपालिमा नेपाली कांग्रेस एकलरुपमा उमेदवार बन्नुभएका निर्वाचनमा जाने भएकोले नेपाली कांग्रेसको तर्फवाट मेयर, उपभयर लगायत सबै वडाका उमेदवारहरुलाई निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन गर्दछु,’ न्यौपानेको विज्ञप्तिमा उल्लेख छ।
मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागबन्डामा सहमति नजुटेपछि दुवै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निष्कर्षमा पुगेको जनाइएको छ।











-1739010447.jpg)
