विमानस्थलमा शंकास्पद वस्तु नभएको पुष्टि, नियमित उडान सुचारु गरिँदै
बुधबार बिहान विमानस्थलका ६ ठाउँमा शंकास्पद बस्तु रहेको भनि फोन आएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन चलाएको थियो।
काठमाडौं, वैशाख २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नरहेको पुष्टि भएको छ। बुधबार बिहान विमानस्थलका ६ ठाउँमा शंकास्पद बस्तु रहेको भनि फोन आएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन चलाएको थियो।
आन्तरिक तर्फका उडानलाई रोकेर विमानमा बसिसकेका यात्रुहरुलाई समेत ओरालेर प्रहरीले सर्च अपरेशन चलाएको थियो। सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो। हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।
‘सूचना प्राप्त भएपछि तत्काल विमानस्थल खाली गराएर सर्च गर्यौं तर शंकास्पद वस्तु भेटिएन,’ विमानस्थल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको छ। उनले विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको जानकारी दिए । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान गरिरहेको जनाएको छ ।










-1739010447.jpg)
