Kathmandu Press

वायुसेवा निगमको आम्दानी ४७ प्रतिशतले वृद्धि

काठमाडौं, वैशाख २१ : आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ।निगमको...
वायुसेवा निगमको आम्दानी ४७ प्रतिशतले वृद्धि

काठमाडौं, वैशाख २१ : आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ।

निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले सुधार भइरहेको देखाएको छ। जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको कार्यकारी अध्यक्ष युवराज अधिकारीको भनाइ छ।

पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने बताइएको छ। ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ। यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको उनले बताए।

निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म आठ अर्ब ३९ करोड आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो। गतवर्ष सोही अवधिको आम्दानी पाँच अर्ब ७० करोड थियो।

निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरीद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरीद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व ४७ अर्ब ४४ करोड पुगेको जनाएको छ।

निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ वित्तीय आम्दानी बचत गरेको छ।

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ। यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको उनले बताए।

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका  दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ।

२०७८ कात्तिकमा न्यारोबडी जहाजले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७९ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो।

निगमले आफ्नो गन्तब्य विस्तारका क्रममा यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ। नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई हप्तामा दुुई वटा उडानबाट प्रारम्भ गरिसकेको छ।

निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ। २०७८ सालको बडादशैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले  तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र  नेपालगञ्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो। त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ।

यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताए।

त्यस्तै, काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ। (रासस)

प्रकाशित मिति: ०८:२१ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्