पुष्पमेला : दुई दिनमा ३७ लाखको कारोबार
काठमाडौं, कात्तिक ३ : फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आयोजना गरेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा कारोबार पनि भइरहेको छ। दुई दिनमै ३७ ....

काठमाडौं, कात्तिक ३ : फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले आयोजना गरेको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा कारोबार पनि भइरहेको छ। दुई दिनमै ३७ लाखको फूलको कारोबार भएको छ।
तिहारलाई लक्षित गरी शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा पुष्पमेला संचालन गरिएको हो। मेलामा पहिलो दिन ६ हजार पाँच सय जनाले अवलोकन गरेका थिए भने १२ लाखको कारोवार भएको थियो।
त्यस्तै, शनिबार दोस्रो दिन १५ हजार जनाले अवलोकन गरेका छन्। यसमा २५ लाखको कारोबार भएको एसोसिएनका महासचिव विश्वमणि पोखरेलले बताए।
मेलामा ४४ वटा व्यवसायिक स्टल, चार वटा सूचनामूलक र एउटा गोदावरी फूलको प्रतिस्पर्धात्मक स्टल राखिएको छ। यस वर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका १६ नयाँ प्रजातिका गोदावरी फूल पनि प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले बताए।
मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरिएको छ। सम्झना नर्सरीले विभिन्न विधामा चार वटा पुरस्कार पाएको छ।
गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर बंगलामुखी नर्सरीले तेस्रो पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका छन्।
एसोसिएसनका अनुसार, ४३ जिल्लाको एक सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिँदै आएको छ। यसमा ४३ हजार पाँच सय कृषक प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन्।
यस पटक पुष्पमेलामा देशभरीबाट कृषकले सहभागिता जनाएका छन्। मेलामा करिब ५० लाखको कारोबार हुने लक्ष्य राखिएको छ। पुष्पमेला कात्तिक ४ गतेसम्म चल्नेछ।










-1754206481.jpg)
