Kathmandu Press

‘पहिले आई हेट पोलिटिक्स भन्थेँ, नीति तथा कार्यक्रम ल्याउन राजनीति आवश्यक रहेछ’

नगरपालिका संघले २९औँ वार्षिकोत्सवका अवसरमा सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको थियो । जसमध्ये एक थियो, पुतलीबजार । संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका थिए ।
‘पहिले आई हेट पोलिटिक्स भन्थेँ, नीति तथा कार्यक्रम ल्याउन राजनीति आवश्यक रहेछ’

काठमाडौं, वैशाख २० : स्याङ्जाको पुतलीबजार नगरपालिकाको उपप्रमुखका लागि जनता समाजवादी पार्टी (जसपा)बाट २३ वर्षीया आस्था नेपालीले उम्मेदवारी दिएकी छन् । पुतलीबजार नगरपालिका– १ मा जन्मेकी उनी १७ वर्षको उमेरदेखि राजनीतिमा लागेकी हुन् । 

पोखराको कञ्चनजंगा बोर्डिङ स्कुलबाट २०७० मा एसइई गरेपछि उनी राजनीतिमा सक्रिय हुन थालेकी हुन् । ‘त्यतिबेला दोस्रो संविधानसभा निर्वाचनको व्यापक चर्चा थियो । पत्रपत्रिकामा निर्वाचनसम्बन्धी समाचार आइरहन्थे,’ उनी भन्छिन्, ‘बाल्यकालमा आई हेट पोलिटिक्स भनेर सोच्थेँ । समाचार पढिरहँदा नीति बनाउन त राजनीतिक गर्नुपर्ने रहेछ ।’ 

अध्ययन गर्दै गर्दा ०७२ मा उनी नेपाल कम्युनिस्ट पार्टी (विप्लव) मा जोडिन पुगिन्, अखिल क्रान्तिकारी इकाई सदस्य हुँदै जिल्ला सदस्य भइन् । ‘मैले त्यहाँ धेरै नीतिगत कुरा बुझ्ने अवसर पाएँ,’ उनी भन्छिन्, ‘कुन दलले जनताका लागि कस्ता काम गरेका छन् भन्ने बिस्तारै बुझ्दै जान थालेँ ।’ 

Hardik ivf

कम्युनिस्ट पार्टीमा सक्रिय हुँदै गर्दा समाजलाई शान्तिपूर्ण ढंगबाट रूपान्तरण गर्नुपर्छ भन्ने उनले बुझ्न थालिन् । ‘राजनीतिमा लागेपछि काम र सिद्धान्त हेरेर दलहरू छुट्ट्याउन सक्ने भएँ,’ उनी भन्छिन्, ‘०७५ मा आफू लागेको पार्टी त्यागेँ । मलाई पुनः राजनीतिक यात्रा अगाडि बढाउन एमाले, कांग्रेस लगायत अन्य पार्टीभित्र प्रवेश गर्ने अवसर थियो । जसपा नै ठीक लाग्यो ।’ 

आस्था ०७६ देखि जसपामा जोडिएकी हुन् । जसपाको नारा छ– संघीयता, सुशासन, समृद्धि र समाजवाद । ‘यो नारा मात्र होइन, अभ्यास पनि भएकाले यस पार्टीमा प्रवेश गरेकी हुँ,’ आस्था भन्छिन्, ‘जसपाले मधेस, पहाड, हिमाललाई जोडेको छ । साथै लैंगिक अल्पसंख्यक, दलित समुदायका बारेमा बोल्दै आएकाले राम्रो लाग्यो ।’ 

यी काम अन्य पार्टीले पनि गरेका छन् । तर, कार्यान्वयनको अभ्यासमा जसपाले अलि धेरै भूमिका निर्वाह गरेजस्तो आस्थालाई लाग्यो । पार्टी प्रवेश गरेसँगै उनी समाजवादी विद्यार्थी युनियन केन्द्रीय कमिटी सदस्य तथा जसपा गण्डकी प्रदेशको कार्यालय सचिव बनिन् । अहिले उपप्रमुखका लागि उम्मेदवारी दिएकी हुन् । 

शिक्षा र स्वास्थ्यमा जोड दिने

नगरपालिका संघले २९औँ वार्षिकोत्सवका अवसरमा सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको थियो । जसमध्ये एक थियो, पुतलीबजार । संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका थिए ।

सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ उत्कृष्ट भए पनि शिक्षा र स्वास्थ्यमा आम नगरवासीको पहुँच नपुगेको आस्थाको विश्लेषण छ । संघीयतापछिको स्थानीय सरकारलाई हेरी नारा ल्याइयो– गाउँ–गाउँमा सिंहदरबार । ‘जनताको मुहार फेरिने अपेक्षा थियो, सोचेजस्तो हुन सकेन,’ आस्था भन्छिन्, ‘आज पनि जनताले टोल–टोलमा सिंहदरबार पुगेको महसुस गर्न पाएका छैनन् ।’ 

नगरवासीलाई नगरपालिका कार्यालय कहाँ छ, त्यसले के कस्ता सेवा दिन्छ भन्नेबारे समेत थाहा नभएको उनी बताउँछिन् । ‘पुतलीबजार स्याङ्जाको ठूलो नगरपालिकामा पर्दछ । नगरवासीले अहिले पनि गुणस्तरीय शिक्षा र स्वास्थ्यको सेवा पाएका छैनन्,’ आस्था भन्छिन्, ‘यी समस्या समाधानका लागि युवा आउनुपर्छ भनेर उम्मेदवारी दिएँ ।’ 

आस्थाका अनुसार, उच्च तथा राम्रो शिक्षाका लागि नगरवासीहरू पोखरा, बुटवल, भैरहवा लगायत सहरमा जानुपर्ने बाध्यता छ । ‘नगरपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा छैन । नगरवासीले सामान्य उपचारबाहेक अन्य सेवा–सुविधाका लागि पाल्पा अथवा पोखरा पुग्नुपर्ने समस्या यथावत छन्,’ आस्था भन्छिन्, ‘शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन तथा व्यवस्थापन गर्नका लागि मैले उम्मेदवारी दिएकी हुँ ।’ 

नगरपालिकाभित्र घरेलुहिंसा, जातीय विभेद, लैंगिक विभेद कायमै रहेको उनी बताउँछिन् । आफू विजयी भए यस्ता विभेद हटाई सामाजिक न्याय स्थापनाका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । 

आस्था दलित समुदायकी हुन् । राजनीतिक व्यवस्था परिवर्तन भए पनि विभेद कम नभएको उनको अनुभव छ । ‘त्यसैले दलित समुदायलाई प्रतिनिधित्व गर्दै भए पनि म नेतृत्व तहमा पुग्न आवश्यक छ,’ आस्था भन्छिन्, ‘युवाको प्रतिनिधित्व नै समाज परिवर्तनको पहिलो प्रयास हो ।’
 

प्रकाशित मिति: १५:५१ बजे, मंगलबार, वैशाख २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्