इन्टरनेट सेवा बन्द नहुने परिस्थिती बनाउन सरकारलाई आयोगको निर्देशन
काठमाडौं, वैशाख १९ : निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द हुने अवस्था नआउने परिस्थिती बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता...
काठमाडौं, वैशाख १९ : निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द हुने अवस्था नआउने परिस्थिती बनाउन सरकारलाई निर्देशन दिएको छ।
सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यपसाद अर्यालले पछिल्लो समय इन्टरनेट प्रदायक संस्थाहरुले नेपालमा इन्टरनेट सेवा बन्द हुने चेतावनी दिँदै आएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेकाले सेवा बन्द हुने अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।
इन्टरनेट सेवा बन्द हुँदा निर्वाचनमा पनि गम्भीर असर गर्ने आयोगले बताएको छ। ‘मुलकुभरका सबै स्थानीय तहमा एकैपटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुँदा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर गर्ने भएकाले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्वद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिती बनाउन आयोग निर्देशन दिन्छ,’ सहप्रवक्ता अर्यालले भने।











